माल्टामा अप्रिल २८ देखि ५ दिने राहदानी तथा कन्सुलर सेवा घुम्ती शिविर सञ्चालन हुने

Share:

माल्टा नेपाल अनलाइन डेस्क/ स्पेनस्थित नेपाली राजदूतावासले माल्टामा ५ दिने घुम्ती कन्सुलर तथा राहदानी सेवा शिविर सञ्चालन गर्ने भएको छ। राहदानी विभागसँगको समन्वयमा आगामी अप्रिल २८ देखि मे २, २०२६ सम्म सञ्चालन हुने उक्त शिविरलाई गैरआवासीय नेपाली संघ (NRNA) माल्टाले सहजीकरण गर्ने जनाएको छ।राजदूतावासका अनुसार माल्टामा बसोबास गर्दै आएका तथा राहदानीको म्याद सकिन लागेका वा सकिएका नेपाली नागरिकहरूलाई आवश्यक कागजातसहित उपस्थित भई सेवा लिन आग्रह गरिएको छ। विदेशमा रहेका नेपालीहरूलाई प्रत्यक्ष रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको हो।

शिविरमार्फत राहदानी नवीकरण, जन्म तथा मृत्यु दर्ता, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामाको प्रमाणीकरण तथा भिसासम्बन्धी सेवा प्रदान गरिनेछ। राहदानी सेवा भने फाराममा तोकिएको मिति र समयअनुसार उपलब्ध गराइनेछ भने अन्य सेवाहरू प्रत्येक दिन दिउँसो ३ बजेदेखि सञ्चालन हुनेछन्।
राजदूतावासले शुल्क तथा आवश्यक कागजातसम्बन्धी विस्तृत जानकारी आफ्नो आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जनाएको छ। साथै, राहदानी तथा जन्म/मृत्यु दर्ताका फारामहरू अनलाइनमार्फत निःशुल्क भर्न सकिने व्यवस्था गरिएको छ।

राहदानी आवेदन फाराम https://emrtds.nepalpassport.gov.np मार्फत निःशुल्क भर्न सकिनेछ भने जन्म तथा मृत्यु दर्ताका लागि https://public.donidcr.gov.np मा आवेदन दिन सकिनेछ। शुल्क तथा आवश्यक कागजातसम्बन्धी विस्तृत जानकारी राजदूतावासको वेबसाइट  https://sp.nepalembassy.gov.np⁠ मार्फत उपलब्ध रहेको राजदुतावासले जनाइएको हो ।

शिविरको स्थान भने माल्टाबासी  नेपालीहरुलाई सहज हुनेगरी पछि सार्वजनिक गरिने जनाइएको छ। अनलाइन फाराम भर्न नसक्ने सेवाग्राहीलाई NRNA माल्टाका स्वयंसेवकहरूले सहयोग गर्ने व्यवस्था मिलाइएको छ।
राजदूतावासले राहदानी प्रक्रियामा सहजीकरण गर्ने नाममा कुनै पनि प्रकारको अनुचित लाभ लिनेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

थप जानकारीका लागि नेपाली राजदूतावास (टेलिफोन: +34 609 196 011), माल्टास्थित अवैतनिक वाणिज्य दूतावास (+356 7982 0176) तथा NRNA माल्टाका अध्यक्ष रोशन गिरी (+356 7709 7037) र वरिष्ठ उपाध्यक्ष  निरज श्रेष्ठ (+356 7779 1626) सँग सम्पर्क गर्न सकिने जनाइएको छ।

Share:

सम्बन्धित समाचारहरू