माल्टाबाट अगस्ट १२ मा देखिँदैछ आंशिक सूर्यग्रहण

Share:

माल्टा नेपाल अनलाइन / आगामी १२ अगस्ट २०२६ मा माल्टाबाट आंशिक सूर्यग्रहण देखिने भएको छ।
माल्टामा स्थानीय समयअनुसार सूर्यग्रहण बेलुका करिब ७:४१ बजे सुरु हुनेछ भने ७:५२–७:५३ बजेतिर अधिकतम अवस्थामा पुग्नेछ। त्यसपछि करिब ७:५५ बजे ग्रहण समाप्त हुनेछ। यसरी माल्टाबाट ग्रहणको दृश्य करिब १४–१५ मिनेटसम्म मात्र अवलोकन गर्न सकिनेछ।
माल्टाबाट भने यसपटक पूर्ण सूर्यग्रहण देखिने छैन। सूर्यको करिब पाँचौँ भाग आसपास चन्द्रमाले ढाकेको अवस्था देखिने भएकाले यहाँबाट आंशिक सूर्यग्रहण मात्र अवलोकन गर्न सकिनेछ। माल्टामा अधिकतम ग्रहणको समयमा सूर्यको करिब २२.५ प्रतिशत भाग ढाकिने खगोलीय गणना रहेको छ।
ग्रहण साँझको समयमा हुने भएकाले पश्चिमतर्फ खुला क्षितिज भएको स्थानबाट बुधबार साँझ देखिने यो खगोलीय घटनाका क्रममा चन्द्रमाले सूर्यको केही भाग ढाक्नेछ। माल्टाका स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार समुद्रतर्फ खुला दृश्य भएका स्थानहरूबाट ग्रहण हेर्न चाहनेहरूका लागि अझ राम्रो अवसर हुन सक्नेछ ।
सूर्यग्रहण युरोपका केही क्षेत्र तथा उत्तरी एटलान्टिक क्षेत्रमा भने अझ स्पष्ट रूपमा देखिनेछ। केही स्थानमा यो पूर्ण सूर्यग्रहणका रूपमा समेत देखिनेछ । भने माल्टा लगायतका अन्य क्षेत्रमा आंशिक रूपमा मात्र देखिनेछ।
सूर्यग्रहण अवलोकन गर्दा भने विशेष सावधानी अपनाउन आवश्यक छ। नाङ्गो आँखाले प्रत्यक्ष सूर्यतर्फ हेर्नु हुँदैन। सूर्यग्रहण हेर्नका लागि प्रमाणित सौर्यग्रहण चस्मा वा सुरक्षित सौर्य अवलोकन उपकरण प्रयोग गर्न विशेषज्ञहरूले सुझाव दिएका छन्।
अगस्ट १२ को साँझ माल्टाको आकाशमा देखिने यो छोटो आंशिक सूर्यग्रहण खगोलप्रेमी तथा सर्वसाधारणका लागि रोचक खगोलीय दृश्य बन्ने अपेक्षा गरिएको छ।

Share:

सम्बन्धित समाचारहरू