माल्टा नेपाल अनलाइन / वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाउँदै माल्टा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवतीसहित पाँच जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई काठमाडौँ महानगरपालिका–१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा पनि रहेकी छन्। थापाले माल्टा पठाइदिने भन्दै एक लाख ३५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार थापालाई काठमाडौँ महानगरपालिका–१५ बाट पक्राउ गरिएको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको छ।
यसैगरी, विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–१० बस्ने २९ वर्षीया सुष्मा भण्डारी, सिन्धुली घर भई कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने २८ वर्षीया करिना देवकोटा, झापा घर भई काठमाडौँ महानगरपालिका–३ बस्ने २७ वर्षीय साजन खनाल र दोलखा घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ३४ वर्षीय पेमा लामा रहेका छन्।
प्रहरीका अनुसार सुष्माले चेक रिपब्लिक पठाइदिने भन्दै पाँच लाख ३५ हजार, करिनाले लिथुआनिया पठाइदिने भन्दै दुई लाख ५० हजार, साजनले फिनल्याण्ड पठाइदिने भन्दै १२ लाख र पेमाले रोमानिया पठाइदिने भन्दै एक लाख रुपैयाँ लिएका थिए।
पीडितहरूले दिएको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।


