बाढी विपत्तिमा नेपाली सेफ सोसाइटी माल्टाको मानवीय पहल, तीज कार्यक्रम स्थगित गर्दै १ लाख सहयोग

Share:

माल्टा नेपाल अनलाइन / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सुरु गरेको विपद्को असर नुवाकोट, धादिङ हुँदै चितवनसम्म फैलिँदा ठूलो जनधनको क्षति भएपछि प्रवासमा रहेको  नेपाली सेसोसाइटीफ  माल्टाले यस वर्षको हरितालिका तीज विशेष कार्यक्रम स्थगित गर्दै मानवीय सहयोग गर्ने निर्णय गरेको छ।

सोसाइटीका अध्यक्ष ध्रुव पाण्डेको नेतृत्वमा भएको कार्यसमिति छलफल तथा सदस्यहरूको अभिमतका आधारमा तीज कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। साथै, विपत्तिबाट प्रभावित तथा पीडित नेपालीहरूको राहतका लागि सोसाइटीको संस्थागत कोषबाट नेपाली रुपैयाँ १ लाख सहयोग गर्ने निर्णय गरिएको छ।
उक्त रकम कुनै व्यक्ति वा निजी संस्थामार्फत नभई सिधै नेपाल सरकारको सम्बन्धित कोषमा जम्मा हुने गरी प्रदान गरिने सोसाइटीले जनाएको छ। सहयोग पारदर्शी रूपमा वास्तविक पीडितसम्म पुग्नुपर्छ भन्ने उद्देश्यले सरकारको आधिकारिक कोषमार्फत सहयोग गर्न लागिएको नेपाली सेफ सोसाइटी माल्टाले माल्टा नेपाल अनलाइनलाई जानकारी गराएको हो । सेफ सोसाइटी, माल्टाका अध्यक्ष ध्रुव पाण्डेले विपत्तिको यस्तो संवेदनशील समयमा उत्सव र रमझमभन्दा मानवीय सेवा महत्वपूर्ण भएकाले तीज कार्यक्रम स्थगित गरिएको बताए।
“हामी परदेशमा छौँ। चाहेर पनि अहिले भौतिक रूपमा नेपालमै पुगेर उद्धार तथा राहतमा प्रत्यक्ष सहभागी हुन सक्ने अवस्थामा छैनौँ। तर नेपालमा दुःख परेका बेला हामी यहाँ बसेर रमझम मात्र गर्न पनि सक्दैनौँ,” पाण्डेले भने। उनले तीज कार्यक्रम स्थगित गर्नु केवल एउटा कार्यक्रम रोक्नु नभई विपत्तिमा रहेका नेपालीप्रति ऐक्यबद्धता जनाउने निर्णय भएको बताए।

नेपाली सेफ सोसाइटी, माल्टाका सह–संयोजक राजु अर्याल ‘बाबु’ले हाम्रो रमझमलाई केही समयका लागि हटाएर त्यो रकम मानवीय सेवामा लगाउने निर्णय गरिएको र  सानो भए पनि हाम्रो सहयोगले विपत्तिमा परेका कसैको जीवनमा राहत र आशा थप्न सकोस् भन्ने हाम्रो चाहना सोसाइटीको रहेको बताए ।
अर्यालले प्रवासमा रहेका नेपालीहरू भौतिक रूपमा नेपाल पुगेर सेवा गर्न नसके पनि आर्थिक तथा मानवीय सहयोगमार्फत मातृभूमिको दुःखमा साथ दिन सक्ने बताए।
“आज नेपालमा धेरै परिवार पीडामा छन्। कसैले आफन्त गुमाएका छन्, कसैले घरबार गुमाएका छन्। यस्तो अवस्थामा हामी सबै नेपाली एकजुट भएर सक्दो सहयोग गर्नुपर्छ,” उनले आग्रह गरे। सोसाइटीले प्राकृतिक विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, प्रभावित सम्पूर्ण नेपालीप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धारका प्रयासमा साथ रहने प्रतिबद्धता जनाएको छ।

तीजको रमझम स्थगित गरेर पीडितको आँसु पुछ्ने प्रयास  सेफ सोसाइटी माल्टाको यो निर्णयले प्रवासमा रहे पनि मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय संवेदनालाई प्राथमिकता दिएको सन्देश दिएको छ।

Share:

सम्बन्धित समाचारहरू