गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्षका उम्मेदवार रामशरण सिम्खडाले संस्थालाई थप ड्यामेज हुनबाट जोगाउन उम्मेदवारी दिने बताएका छन् । माल्टाको सेन्जुआनमा आयोजित अन्र्तक्रियामा उनले एनआरएनएको छबि बिग्रन लागेकोमा चिन्ता व्यक्त गरे । ’अहिले रुपा्न्तरणको बेला हो, संस्थालाई थप ड्यामेज हुन नदिन सोच्नैपर्छ’, उनले भने, ’ड्यामेज कन्ट्रोल गरेर पुरानै लयमा लैजानुछ, पवित्र संस्था बनाउन सक्नुपर्छ । ’
वर्तमान उपमहासचिव रहेका सिम्खडाले संस्थामा दलाली गर्नेहरुलाई जिताउन नहुने जीकिर गरे । संस्थाको आवरणमा कालो धनलाई सेतो बनाउने, कुकृत्य लुकाउने, मानव तस्करी गर्नेहरुबाट बचाउनुपर्ने बताए । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निष्पक्ष, धाँदली ।हित चुनाव हुनुपर्नेमा जोड दिए । कार्यक्रममा युरोप संयोजक पदका उम्मेदवार चिरञ्जीवि खड्काले चुनाव रोक्ने खेल भैरहको बताउँदै खबरदारी गर्न आग्रह गरे ।
चुनावका बेलामा मात्रै सदस्यता बनाउने, खोज्ने प्रवृत्ति हटाउनुपर्ने बताए । सचिव पदका उम्मेदवार राजेन्द्र पुडासैनीले एनआरएनएभित्रको बेथीति विरुद्ध मतमार्फत खबरदारी गर्नुपर्ने बताए । एनसीसीहरुको स्थायी संरचनाहरु बनाउनुपर्नेमा जोड दिए । उनले एनआरएनएको इमेज बिग्रेकाले पुर्नसंरचना हुनुपर्ने बताए । युरोप उपसंयोजक पदका उम्मेदवार रोबोट लिम्बुले दोस्रो पुस्तालाई नेतृत्व तहमा लगेर नीति तर्जुमा गर्नुपर्ने बताए ।
उनले युरोप रेञ्जका लागि इर्मजेन्सी फण्ड बनाउनुपर्नेमा बताए । युरोप उपसंयोजक पदका उम्मेदवार महेश अधिकारीले नेपालसँग विकासमा हातेमालो गर्नुपर्नेमा जोड दिए । युरोप युवा संयोजक पदका उम्मेदवार प्रकाश भण्डारीले युवा नेतृत्वमार्फत एनआरएनएप्रतिको विश्वास थप बढ्ने बताए ।
भण्डारीलाई साझा उम्मेदवारका रुपमा लैजान कार्यक्रममा सहभागि ४ जना उम्मेदवारनै सहमत बनेका छन् । एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्स, निवर्तमान अध्यक्ष भुवन अर्याल, महासचिव सन्देश केसीले माल्टामा नेपालीले भोग्नुपरेका समस्याबारे उम्मेदवारहरुको ध्यानाकर्षण गराएका थिए ।