(माल्टा) / अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले सेफ (भान्से) उत्पादन गर्नका लागि तालीम संचालन गर्ने भएको छ । युरोपको माल्टामा रहेका इच्छुक नेपालीहरुका लागि दक्ष भान्से उत्पादन गर्नको लागि सोमबार बसेको बैठकले तालीम संचालन गर्ने विषयमा व्यापक छलफल गरेको हो ।
आधिकारिक रुपमा तालीम संचालन गर्नका लागि माल्टा सरकारको कानूनी प्रक्रिया पूरागरी अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टा दर्ता गर्नको लागि दर्ता प्रक्रियाको काम अन्तिम चरणमा पुगेको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले बैठकमा जानकारी गराएका थिए । उनले भने–“ संस्थाका उपाध्यक्ष बाबू अर्यालले माल्टामा संस्था दर्ताका लागि समन्वय गर्ने काम गरी रहेको र अनुमती पनि पाइ सकेकोले अब केही दिनमै संस्था दर्ता हुन्छ ।” संस्था दर्ता भएपछि माल्टामा रहेका नेपाली होटेल तथा रेष्टुरेन्ट सँग छलफल गरी नेपाली खानाको मेनु तयार पार्ने, तालीम संचालन गर्ने, नेपाली खानाको प्रदशनी लगायतका कार्यक्रम आयोजना गर्ने भुसालले बताए । बैठकमा समयको पालना गर्ने विषयमा छलफल गर्दै निर्णय समेत भएको छ ।
माल्टाको बुजिब्बामा रहेकोे काठमाडौं क्यासिनो रेष्टुरेन्टमा बसेको बैठकले अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका सदस्य जित बहादुर चौधरी केही महिना देखि बिरामी भएर माल्टाको मार्टर दे अस्पतालमा भर्ना भएर उपचार गराइ रहेका चौधरीको स्वास्थ्य अवस्थाको बारेमा व्यापक रुपमा छलफल गर्दै लिखित रुपमा स्वास्थ्य लाभको कामना गरेको छ । उपचार अहिले सम्म जारी रहेको र खान बस्न र उपचारको लागि पैसाको अभाव भएकोले माल्टामा रहेका नेपाली सहित देश विदेशमा रहेका सबैसँग सहयोगका लागि अनुरोध गर्ने निर्णय पारीत गरेको छ । सहयोग रकम संकलन अभियानका लागि अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका सह–सचिव श्याम भण्डारीलाई बैठकले जिम्मेवारी दिएको छ । संस्थाका सदस्यहरु बाटै सहयोग रकम उठाउन सुरु गरिएको सह–सचिव श्याम भण्डारीले बताए ।
साझा बुझाइ र सकारात्मक सोचका साथ संस्थागत विकासमा सबै एक भएर लाग्नु पर्ने अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका वरिष्ठ सल्लाहार धनराज अविरलले बताए । संस्था स्थापनाको छोटो समयमै संस्थाले राम्रो काम गर्दै आएको र नेपाली सेफहरुको एकता र सक्रियताले अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टा दर्ताको अन्तिम चरणमा पुगेको भन्दै सबैलाई धन्यवाद् दिएका थिए । संस्थाका अध्यक्ष बासुदेव भुसालको असल नेतृत्व र पदाधिकारी सबैको सकारात्मक सोच र कामको प्रशंसा गरेका थिए । संस्थामा महिला सेफहरुलाई पनि जोडेर लैजानको लागि माल्टामा रहेका नेपाली महिला सेफको खोजी गरी संस्थामा आवद्ध गर्न पहल गर्नुपर्ने धारणा राखेका थिए । संस्थाका सल्लाहकार अर्जुन केसीले गैर कानूनी रुपमा कसैले पनि काम गर्नु हुँदैन । संस्था दर्ता गरेर मात्र आधिकारिक रुपमा काम गर्नुपर्नेमा जोड दिएका थिए । माल्टामा नेपालीले आयोजना गर्ने कार्यक्रममा बिवाद हुने भएकोले सभ्य भएर कार्यक्रम संचालन गर्नुपर्ने सुझाब दिएका थिए ।
बैठकमा उपाध्यक्ष ध्रुर्वराज पाण्डेले संस्थाको आर्थिक विकासका लागि कोष बलियो बनाउनु पर्ने र त्यसका लागि लेवी रकम नियमित रुपमा उठाउनु पर्नेमा जोड दिएका थिए । त्यसैगरी बेदराज खरेलले समयको पालना गर्नुपर्ने विचार राखेका थिए । विश्वमा नेपाली खानाको प्रवद्धन गर्नका लागि नेपाल लगायत विभिन्न देशमा गठन भएका अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीहरुले विभिन्न कार्यक्रम गर्दै आएको कोषाध्यक्ष एकराज प्रोखेलले बताए । साथै नेपाली खानाको प्रवद्धन हुने खालका गीत संगितलाई संस्थागत रुपमा विकास गरेर लैजाने विषयमा बैठकले छलफल गरेको छ ।
अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीले नेपाली खानाको मेनु तयार पार्न एउटा टिम बनाएको र त्यो टिममा विभन्न देशबाट सेफहरुको सहभागिता रहेको छ । माल्टाबाट मेनु तयार पार्ने टिमका लागि सिफारिस गरी पठाइएका सुरेन्द्र दासले मेनु तयार पार्ने विषयमा छलफल छलफल भइ रहेको बैठकमा जानकारी गराएका थिए । सचिव सुन्दर घिमिरेले संचालन गरेको बैठकमा नयाँँ सदस्य लिएका कलाकार यम प्रसाद न्यूरेले एकतावद्ध भएर अगाडि बढ्नु पर्ने बताएका थिए । बैठकमा नयाँ सदस्ता लिएका मान बहादुर खत्री, निराजन काफ्ले, प्रशुराम अधिकारी र यमप्रसाद न्युरेलाई सदस्यता प्रमाण –पत्र प्रदान गरिएको थियो ।