अध्यक्षमा पराजित दुई उम्मेदवारले गैरआवासीय नेपाली संघ (एनआरएनए) मतपरिणाम अस्विकार गर्ने घोषणा गरेका छन् । महेशकुमार श्रेष्ठ, आरके शर्मा (राजेन्द्रकुमार) ले विज्ञप्ति जारी गर्दै पूर्वनियोजित सेटिङमा गरिएको कथित नतिजा घोषणा मान्य नभएको उल्लेख गरेका छन् । निर्वाचन समितिले एनआरएनए अध्यक्षका बद्री केसीलाई विजयी भएको घोषणा गरेको थियो । श्रेष्ठ र शर्माले बिहीबार मध्यराति घोषणा गरिएको निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेका जीकिर गरेका छन् ।
‘अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्ष पदका उम्मेदवार केशव पौडेलको मत शून्य देखाइएको छ । भेरो कम्पनीको नाममा अनलाइन सिस्टम कब्जा गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ, यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।’ निर्वाचन समितिप्रति विश्वास नभएको बताएका छन् । अध्यक्षका दुई उम्मेदवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘११औं महाधिवेशनको प्रक्रिया जारी रहेकाले महाधिवेशनले उपयुक्त निर्णय गर्ने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै डेलिगेट्स मित्रहरुलाई संयम अपनाउन र एनआरएनहरुको मर्यादामाथि आघात पुग्ने कुनै पनि गतिविधि नगर्न अपिल गर्दछौं ।’
एनआरएनएले पहिलो पटक भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी निर्वाचन गरेको थियो । उनीहरुले भेरोसँग मास्टर कपी माग समेत गरेका छन् । आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै बद्री केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । केसीले १३७८ , शर्माले १२८१ र श्रेष्ठले १२२५ मत प्राप्त गरेका थिए ।
विद्युतीय माध्यमबाट भएको निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई ईमेलमार्फत् प्रेसित निर्वाचन परिणाम जस्तातस्तै बाचन गरेर सुनाउने क्रममा १ जना उम्मेदवारको नेपालबाट प्राप्त मत परिणाम शून्य उल्लेख भएको कारण विवाद सिर्जना भएको निर्वाचन समितिको सुचनमा उल्लेख छ । निर्वाचन समितिले निर्वाचनको प्रक्रिया सबै पुरा गरेकाले रद्द नै हुने सम्भावना भने न्यून रहेको निर्वाचन समितिका १ जना सदस्यले बताए।