माल्टाको पाँच तारे होटलले नेपाली खाना प्रवर्धन अभियान सुरु गरेको छ । सिलेमामा रहेको होटल एक्स द प्यालेसको त्याम्टेसन रेष्टुरेण्टले नेपाली मौलिक खाना समावेश भएको मेन्यु लागु गरेको छ । दशै, तिहार, छठलाई लक्षित गरेर एक दर्जन नेपाली खाना समावेश गरि मेन्यु बनाएको छ । एक्स ग्रुपको एक्स द प्यालेसमा डेढ सय नेपाली कार्यरत छन् । एक्स ग्रुपका अन्य होटलहरुमा झण्डै ५ सय नेपाली कार्यरत छन् ।

प्रतिव्यक्ति २५ युरोमा नेपाली खाजा, खानाको व्यवस्था मिलाइएको छ । त्याम्टेसन रेष्टुरेण्टका सिनियर सेफ बाबु अर्याल, असिष्टेण्ट म्यानेजर पुजा श्रेष्ठ, सुसी सेफ भेष राना लगायतका नेपालीको अगुवाईमा नेपाली मेन्यु सार्वजनिक गरिएको हो ।

सादेको अचार, गुन्द्रुक, धराने बंगुर, मुस्ताङे पुलाउ, मुसुराको दाल, काठ्माण्डौ चिकेन, सुजिको हलुवा, पानीपुरी, चटपट, मःम, चाउमिन लगायतका खानाहरु राखिएको छ । एक्स द प्यालेस होटलको ९ तलामा रहेको त्याम्टेसन रेष्टुरेण्टबाट माल्टाको राजधानि भ्यालेट्टाको करिब ७० प्रतिशत दृश्यावलोकन गर्न सकिन्छ । होलटका जिएम जेम्स भिल्ला, रेष्टुरेण्ट म्यानेजर मार्को गार्मेनीसँग छलफल गरेर होटलमा कार्यरत नेपाली युवाहरुले नेपाली खानाको मेन्यु तयार गरेका हुन् । एक्स द प्यालेस होटलले कैयन अवार्डहरु पाइसकेको छ ।

यहाँ चाइनिज, जापानिज, थाई, मलेसियन, इण्डोनेसियन, इण्डियन, भियततामिज लगायतका खाना खान पर्यटकहरु धेरै आउने गर्छन् । समुन्द्रको छेउमा रहेको यो होटल माल्टा घुम्न आउने पर्यटकको रोजाईमा पर्ने गर्छ । एनआरएनए माल्टाका पूर्वअध्यक्ष, नेपाल माल्टा कम्युनिटीका सल्लाहकार बाबु अर्याल १२ वर्षदेखि यही होटलमा कार्यरत छन् । नेपालीहरुलाई चाडबाडका बेला रमाउँदै नेपाली मौलिक खाना खान सहज होस् भनेर मेन्यु बनाइएको बताए ।

विदेशमा रहेपनि नेपालकै झल्को दिन मौलिक खानाहरु बनाइएको बताए । सुसी सेफ भेष रानाले नेपाली मौलिक खानालाई विदेशीहरुले पनि रुचाएको बताए । असिष्टेण्ट म्यानेजर पुजा श्रेष्ठले माल्टामा रहेका सबै नेपालीलाई पारिवारीक वातावरण दिलाउदै चाडबाड मनाउन नेपाली रेसिपी तयार पारिएको बताइन् ।

एक्स द प्यालेसका माल्टामा १० वटा ब्रान्चहरु रहेका छन् । २ फाइफ स्टार, २ फोर स्टार, १ थ्रीस्टार, ११ वटा आउटलेट रेष्टुरेण्टहरु छन् ।



