नोभेम्बर ,५ / माल्टा
गैरआवासीय नेपाली संघ माल्टाले नेपाल र माल्टाबीच द्विपक्षीय श्रम सम्झौता गर्न आह्वान गरेको छ । एनआरएनएका युरोप युवा संयोजक प्रकाश भण्डारी, माल्टा अध्यक्ष रेमलाल खनाल रेम्सले द्विपक्षीय सम्झौताका लागि पहल भैरहेको जानकारी दिए ।
खनालले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग पटक पटक भेट भएको जानकारी दिए । केहि हप्ता पहिले नेपालको परराष्ट्र, श्रम मन्त्रालयमै पुगेर माल्टामा नेपालीले भोग्नुपरेका समस्याबारे एनआरएनए माल्टा टोलिले भेट गरेको थियो ।
माल्टाका लागी अवैतनिक वाणिज्य दुत डाक्टर जोनाथन अबेला सँग पनि भेट गरि माल्टा सरकारले २०२४ बाट थर्ड कन्ट्रिको लागि परिवर्तन गरेको नियमको बारेमा ध्यानाकर्षण गराइएको थियो ।
अध्यक्ष खनालले द्विपक्षीय सम्झौताले माल्टामा
भोग्नुपरेका विविध समस्याहरु समाधान हुने बताए । पछिल्ला वर्षमा रोजगारीका लागि नेपालीहरु आउने क्रम बढेको छ ।
माल्टा आउन अनेक जटिल प्रक्रिया पुरा गर्नुपर्ने बाध्यता छ । एनआरएनएका युरोप युवा संयोजक प्रकाश भण्डारीले माल्टा बसाइ खर्च निकै बढेको बताए । माल्टामा आउने र आवश्यक कागजातहरू बनाउन ठुलो धनराशि खर्च गर्नुपर्ने बाध्यता हटाउनुपर्ने बताए । उनले नयाँ सीप कार्ड प्रणालीले थप लागत बढाउने बताए ।
जनवरीदेखि, पर्यटन खानपान उद्योगमा रोजगारी खोज्ने गैर-ईयू कामदारहरूले माल्टामा काम गर्ने अनुमति प्राप्त गर्न स्किल टेष्ट गर्नुपर्ने प्रावधानले थप अतिरिक्त आर्थिक भार थपिएकोबारे दुवै सरकारको ध्यानाकर्षण गराइएको बताए ।
सीप कार्डका लागि हरेक व्यक्तिका लागि ५ सय ७५ युरो बुझाउनुपर्ने नियम लागु हुदैछ । भण्डारीले रेसिडेन्सी परमिट नवीकरण गर्न (टिआरसी) मा समेत नेपालीले सास्ती खेप्नुपरेको बताए । महिनौ कुर्नुपर्ने बाध्यता छ । नेपालीहरूले भोगेका समस्या गर्न श्रम सम्झौता अपरिहार्य रहेको बताए ।
आइडेन्टीटा (पहिले आइडेन्टिटी माल्टा) र नयाँ रोजगारदाताले आवश्यक कागजातहरू उपलब्ध गराउन धेरै समय लिदा महिनौ काम विहिन भएर बस्नुपर्ने पीडा भोग्दै आएका छन् । नेपाल सरकारले जर्मनी, क्रोएसिया, रोमानिया लगायतका देशसँग गरेको सम्झौता जस्तै माल्टासँग सम्झौता गर्न एनआरएनए टोलिले पहल गरिरहेको छ । 
माल्टाका अध्यक्ष खनालका अनुसार गत महिना मात्रै माल्टामा बसोबास गर्ने नेपाली कामदारबाट करिब २ सय उजुरी संघमा परेका थिए । पूर्व सूचना नदिई जागिर खोसिने मुख्य समस्या रहेको छ ।



