माल्टामा “ लोक साँझ तथा सांस्कृतिक कार्यक्रम” हुँदै, गायक पशुपति शर्मा प्रमुख आकर्षण

Share:

माल्टा नेपाल अनलाइन सम्बाददाता

आउँदो एप्रिल २५ तारिख माल्टाको जिरास्थित अर्फिम थियटरमा एक विशेष “नयाँ वर्ष लोक साँझ तथा सांस्कृतिक कार्यक्रम” हुने भएको छ। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा हुने उक्त कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएका छन्।

एभरेस्ट इन्टरटेनमेन्टको मुख्य आयोजना र सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् माल्टाको सह–आयोजनामा उक्त कार्यक्रम हुने भएको हो । माल्टामा बसोबास गरिरहेका नेपाली समुदायबीच आपसी मित्रता, सांस्कृतिक पहिचान र नयाँ वर्षको उल्लासपूर्ण वातावरण सिर्जना गर्ने उद्देश्यले यस कार्यक्रम गर्न लागिएको कार्यक्रमका संयोजक दिपेन्द्र कार्कीले  जानकारी दिए। उनका अनुसार, “यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्रै होइन, नेपाली संस्कृति र समुदायबीचको एकता सुदृढ गर्ने प्रयत्न पनि हो।”
साथै, कार्यक्रमका उपसंयोजक राजेन्द्र चापागाईंले माल्टामा सक्रिय संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूलाई सम्मानित गर्ने विशेष समारोह पनि यस कार्यक्रममा समावेश गरिएको जानकारी दिएका छन् ।
कार्यक्रम  साँझ ५ बजेबाट सुरु हुने र दर्शकहरूले गायक पशुपति शर्माका चर्चित लोक तथा दोहोरी गीतहरूको प्रत्यक्ष प्रस्तुति हेर्न र सुन्न पाउनेछन्। साथै, अन्य स्थानीय कलाकारहरूले पनि विभिन्न नृत्य, गायन, रचना वाचनजस्ता सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने संयोजक कार्कीले बताए।

नेपालबाट टाढा रहे पनि संस्कृति, भाषा र पहिचानलाई जोगाउँदै आएका नेपालीहरूका लागि यो कार्यक्रम एक सांस्कृतिक उत्सवको रूपमा समेत रहेको हुँदा सम्पूर्ण नेपाली समुदायलाई समयमै उपस्थित भई कार्यक्रममा सहभागिता जनाउन  आयोजक टिमले अनुरोध समेत गरेका छन् । टिकट तथा अन्य व्यवस्थापनका विषयमा थप जानकारीका लागि एभरेस्ट इन्टरटेनमेन्टलाई सम्पर्क गर्न सकिने संयोजक कार्कीले माल्टा नेपाल अनलाइनलाई जानकारी दिए ।

Share:

सम्बन्धित समाचारहरू