एनआरएनए माल्टाका सल्लाहकार दिनेश कार्कीले नेतृत्वमाथि लगाए गम्भीर आरोप

Share:

माल्टा नेपाल अनलाइन डेस्क
गैरआवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद्  (एनआरएनए) माल्टा गुटबन्दी, पदको दुरुपयोग, आर्थिक अपारदर्शिता र संस्थागत विचलनका कारण फुटको संघारमा पुगेको आरोप संस्थाका सल्लाहकार दिनेश कार्कीले लगाएका छन्।

कार्कीले आइतबार  सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक एक लामो पोस्टमा नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै संस्था गम्भीर संकटमा रहेको उल्लेख गरेका छन्। उनका अनुसार  राजनीतिक हस्तक्षेप, गुट-उपगुटको चलखेल, निर्णय प्रक्रियाको निष्क्रियता, र पारदर्शिताको अभावका कारण एनआरएनए माल्टा आफ्नो मूल उद्देश्यबाट च्युत भएको बताएका छन ।

“नेपाली डायस्पोराको एकताको प्रतीक एनआरएनए अहिले गुटगत राजनीतिक खेल, पदको दुरुपयोग र नैतिकहीन कार्यशैलीले घेरिएको छ। विशेषगरी माल्टामा यी समस्याहरू चरम अवस्थामा छन्,” कार्कीले लेखेका छन्।

उनले परिषद्का कार्यसमिति सदस्यहरू केन्द्रमा रहेका गुटहरूको प्रभावमा काम गरिरहेको आरोप लगाउँदै भनेका छन्, “एनसीसीमा विधि, विधान, कार्ययोजना र प्रक्रिया भन्दा गुटीय सौदाबाजीले काम भइरहेको छ। निर्णय प्रक्रिया निष्क्रिय बनेको छ र परिषद् आदेश पालना गर्ने ‘पोस्ट अफिस’ जस्तो सीमित भएको छ।

कार्कीका अनुसार कार्यसमितिका केही सदस्यले व्यक्तिगत प्रतिष्ठा, आर्थिक लाभ र पदको मर्यादा दुरुपयोग गरेर परिषद्लाई व्यक्तिगत फाइदाको साधन बनाएका छन्। “सदस्य शुल्क, सहयोग, विभिन्न कार्यक्रमबाट आएका आयश्रोत र कोषहरूको पारदर्शी व्यवस्थापन नभएको” उनको दाबी छ।

उनले लेखेका छन्, “एनआरएनए माल्टाको विश्वसनीयता घटेको छ, सदस्यहरूको उत्साह हराउँदै गएको छ र नेपाली समुदायले एनआरएनए लाई भ्रष्ट संस्था ठान्न थालेका छन्।”

कार्कीले संस्थाको कोषको दुरुपयोग र कार्यसमितिका केही सदस्यले व्यापारिक सौदामा मध्यस्थता गरेर कमिसन लिएको जस्तो जनगुनासोहरू व्यापक रूपमा सुनिन थालेको उल्लेख गरेका छन्।

उनका अनुसार आफ्ना समर्थकहरूलाई मात्र झूटा सदस्यता दिइएर चुनावमा हस्तक्षेप गरिएको छ। “वास्तविक सदस्य बन्न खोज्नेहरूलाई बहिष्कार गर्ने, तर सदस्यता शुल्क आफ्नै गोजिबाट हालेर पक्षपाती माहोल बनाउने रणनीति अपनाइएको छ,” कार्कीको आरोप छ।

उनले आलोचकहरूलाई धम्की, बदनाम गर्ने र गुटबन्दीमार्फत चुप लगाउने प्रयाससमेत भइरहेको उल्लेख गरेका छन्।
“२३/२५ कार्यकालमा संस्थाले केही राम्रा काम गरे पनि अहिले अन्तिम समयमा आएर नेपाली समुदायको विश्वास गुमाउँदै गएको छ,” कार्कीले बताएका छन्। उनका अनुसार योग्य र इमानदार नेपालीहरू संस्था सँग जोडिन हिच्किचाइरहेका छन्। कार्कीले सबैलाई गुट उपगुटभन्दा माथि उठेर, राजनीतिक आस्था होइन, समाजको आवश्यकतालाई आधार मानेर सहकार्य गर्न आग्रह गरेका छन्। “हामी एनआरएनए का वास्तविक मालिक हौं—नेताहरू होइनन्,” भन्दै उनले सुधारको आवाज तत्काल उठाउन सबैमा अपिल गरेका छन्।

“कुनै पनि समस्याको समाधान आपसी छलफल, परामर्श र वार्ताबाट सम्भव हुन्छ। समयमै सजग हुन जरुरी छ।” सल्लाहकार कार्कीले अन्त्यमा लेखेका छन्, “मौनता तोड्नुहोस्, आवाज उठाउनुहोस्। सुधार नभएसम्म सहयोग रोक्नुहोस्।”
माल्टा नेपाल अनलाइन लाई जानकारी दिदै सल्लाहकार कार्कीले  एनआरएनए माल्टामा सल्लाहकारमा नियुक्त हुनु केवल सम्मानको विषय मात्र होइन, उत्तरदायित्व हो ‘भित्तामा झुन्ड्याइ राख्ने पदक’ हैन, बरु संस्थाको नीति, दिशा र प्रवासीन नेपाली समुदायको हितमा योगदान पुर्‍याउने गम्भीर भूमिका रहेको बताए  । त्यस भुमिकाको  निर्वाह आफ्नु कर्तव्य रहेको उनको भनाइ छ। उनले अझै पनि हामीले  एनआरएनए माल्टालाई विवाद रहित बनाउन सहकार्य , सहमति र एकताबाट नै समस्याको  समाधान हुनु पर्नेमा जोड दिएका छन ।

Share:

सम्बन्धित समाचारहरू