माल्टा नेपाल अनलाइन डेस्क
नेपाली समाज माल्टाले समुद्रमा डुबेर निधन भएका स्व: रोबर्ट न्यौपानेको परिवारलाई २ लाख ३५ हजार २ सय रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ।
संकलन गरिएको युरो १,५०६.९२ बराबरको सो रकम स्व. न्यौपानेकी आमा भगवती न्यौपानेको नाममा रहेको एनआईसी एशिया बैंकको खातामा पठाइएको नेपाली समाज माल्टाले जनाएको हो ।
माल्टाको समुद्रमा डुबेर निधन भएका स्व. न्यौपानेको सम्झनामा समाजले समुदायमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो। माल्टा तथा गोजोमा बसोबास गर्ने नेपालीहरूबाट संकलित सो रकम पीडित परिवारलाई सहयोग पुग्ने उद्देश्यले पठाइएको नेपाली समाज माल्टाका अध्यक्ष ज्ञान बहादुर लामाले जानकारी दिए। अध्यक्ष लामाले भने, “दु:खद घडीमा हाम्रो सानो सहयोगले परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले हामीले यो अभियान सञ्चालन गरेका थियौं। नेपाली समाज माल्टा सधैं दुःखमा परेकाहरूको साथमा रहन्छ।”
२०७८ सालमा माल्टा आएका नवलपरासी, देवचुली नगरपालिका–१३, दलदले निवासी २५ वर्षीय न्यौपानेको सन् २०२५ जुलाई ८ तारिख बिहान १ बजे माल्टाको स्लेइमा समुद्र किनारमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो। ओर्मी क्षेत्रमा बस्दै आएका उनी रोजगारीको सिलसिलामा माल्टा पुगेका थिए।
शव व्यवस्थापन, नेपाल पठाउने प्रक्रिया तथा काजकिरियामा सहयोग होस् भन्ने उद्देश्यले नेपाली समाज माल्टाले यो अभियान सञ्चालन गरेको हो।
समाजले सहयोग गर्ने व्यक्तिहरूको नाम सामाजिक संजालबाट समेत सार्वजनिक गरेको छ।