माल्टा नेपाल अनलाइन डेस्क
काजाब्लांका क्यासेल्लो, बेल्जियम / नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमको आयोजनामा र मातृसंस्थाहरूको सह–आयोजनामा सुन्दर नगरी लुभेनमा ३१औं विश्व आदिवासी दिवस अधिकार सहितको पहिचानको मूल नाराका साथ भव्यताका साथ मनाइयो।

कार्यक्रममा बेल्जियमस्थित कला, साहित्य, पत्रकारिता, खेलकुद र विभिन्न जातीय वैचारिक संघ संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति थियो। संयुक्त राष्ट्र संघले यस वर्ष “प्राकृतिक स्रोत, जल, जमिन र जंगलमा संयुक्त आदिवासीको अधिकार सुनिश्चित गर, आईएलओ १६९ अनुरूप सर्वोच्च अदालतको निर्देशन कार्यान्वयन गर” भन्ने नारा अगाडि सारेको थियो।
नेपाली राजदूतावासका प्रतिनिधि रमेश गैरेले आदिवासी जनजाति कार्यक्रममा सहभागी भएर शुभकामना व्यक्त गर्न पाउँदा खुशी लागेको बताए। उनले सांस्कृतिक संरक्षण परिवारदेखि सुरु भएर पुस्तान्तरणमार्फत हुनुपर्नेमा जोड दिँदै महासंघको प्रयासलाई राष्ट्रिय गौरवको विषय भने।
एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटाले महासंघसँग सहकार्य गर्दै नेपाली समाज एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। केही विवाद भए पनि सामाजिक सद्भाव र नियम–नियमावलीको पालना गर्दै सबैलाई अघि बढ्न आग्रह गरिन्।
कार्यक्रमका विशेष अतिथिहरूले भाषा विधेयक पारित हुनु आदिवासी अधिकारका महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै थप प्रगतिको लागि प्रतिबद्धता व्यक्त गरे। बैचारिक संस्थाका प्रतिनिधिले सरकारले आदिवासी अधिकारप्रति मौन नबस्नुपर्ने कुरामा जोड दिए।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू पनि राखिएका थिए जसले कार्यक्रममा उल्लास थपेका थिए।
नेफिन बेल्जियमकी अध्यक्ष प्रविना गुरूड़ले ILO १६९ र UNDRIP मा उल्लेखित अधिकारहरू अझै प्राप्त हुन बाँकी रहेकाले महासंघ निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता व्यक्त गरिन्। महासंघ उपाध्यक्ष मुना राईले सबैमा धन्यवाद व्यक्त गरिन्।
कार्यक्रम संयोजक ओमराज गुरूंग, सह संयोजक कल्पना मगर, र कार्यक्रम संचालन महासचिव रबिन राईले गरेका थिए।
यसैगरी, बागमती र गण्डकी प्रदेशमा तामाङ, मगर, गुरूंग र नेपाल भाषालाई सरकारी कामकाजी भाषा बनाएको अवसरमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो।








