काठमाडौं /ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन तयारी गर्दै उनले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेश गरेका हुन्।

फागुन २१ गते तय भएको निर्वाचनमा उम्मेदवार बन्ने उद्देश्यले राजीनामा दिएको बताइएको छ। मन्त्री घिसिङले भदौ ३० गते मन्त्री पदको शपथ लिएका थिए। उनले बुधबार साँझ पत्रकार सम्मेलनमार्फत राजीनामाबारे औपचारिक जानकारी दिने कार्यक्रम पनि राखेका छन्।
प्रधानमन्त्रीको कार्यालयले उनको राजीनामासम्बन्धी तस्बिर सार्वजनिक गरिसकेको छ। घिसिङले यसअघि आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल’ नामक दल दर्ता गराएका थिए। हाल भने उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका छन् र सो पार्टीका उपसभापति समेत हुन्।
गैरदलीय सरकारमा दलका पदाधिकारी मन्त्री बनेको विषयलाई लिएर चौतर्फी आलोचना बढेपछि उनले पद त्यागेको बताइएको छ।



