माल्टा नेपाल अनलाइन डेस्क
गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा राष्ट्रिय समन्वय परिषद्को २०२५–२७ कार्यकालका लागि कोषाध्यक्ष पदमा दुई स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन समितिद्वारा सार्वजनिक प्रारम्भिक उम्मेदवार नामावलीअनुसार उदयबाबु श्रेष्ठ र दिपेन्द्र कार्कीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।
दुवै उम्मेदवार कुनै प्यानल वा समूहबाट नभई स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिएका हुन्। कोषाध्यक्ष पदलाई विशेष आर्थिक पारदर्शिता, जवाफदेहिता र विश्वसनीयता सुनिश्चित गर्ने मुख्य जिम्मेवार पदका रूपमा हेरिन्छ।
निर्वाचन समितिका अनुसार मतदान यही जुलाई ३१ तारिखका दिन अनलाइन प्रणालीमार्फत सम्पन्न गरिनेछ। निर्वाचन समितिका अनुसार मतदान जुलाई ३१ तारिख बुधवार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म अनलाइन प्रणालीमार्फत सम्पन्न हुनेछ।
निर्वाचन आचारसंहिता अनुसार जुलाई ३० को साँझ ८:०० बजेदेखि मौन अवधि सुरु भई मतगणना सम्पन्न भई नतिजा सार्वजनिक नहुँदासम्म लागू हुनेछ। यस अवधिमा प्रचारप्रसार, अभिव्यक्ति वा मत प्रभाव पार्ने गतिविधि गर्न नपाइने निर्वाचन समितिले जनाएको हो ।
अन्य पदहरूमा भने तोकिएको समयसीमा भित्र दाबी–विरोध नपरेकोले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक भुवन अर्यालले जानकारी दिएका छन् ।
निर्विरोध निर्वाचित हुनेमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा शंकर पोखरेल रहेका छन्। त्यसैगरी, अध्यक्षमा सत्य झा, महासचिवमा भक्त बहादुर भण्डारी, महिला उपाध्यक्षमा प्रभा राई, युवा उपाध्यक्षमा श्याम कुमार बस्नेत, उपमहासचिवमा किरण बुढाथोकी निर्विरोध चयन भएका छन्।
त्यसैगरी, सचिव पदमा दिपक शाही ठकुरी, भरत अर्याल र किरण बस्याल, सह–कोषाध्यक्षमा रेशम विक, युवा संयोजकमा सुदीप विक, महिला संयोजकमा प्रतिभा सार्की निर्विरोध निर्वाचित भएकी हुन् । सदस्यतर्फ सूर्य बहादुर थापा, सन्तोष अधिकारी, सुबास लामिछाने, दिर्घ सिंह गुरुङ, सुवास पुरी, प्रकाश वान्तवा, अरुण थेबे र दर्शन लिम्बु समेत निर्विरोध उम्मेदवारका रूपमा निर्वाचित भएका निर्वाचन समितिले माल्टा नेपाल अनलाइनलाई जानकारी दिएको हो ।



