माल्टा नेपाल अनलाइन डेस्क
माल्टाको समुद्रमा डुबेर ज्यान गुमाएका नवलपरासीका रोबर्ट न्यौपानेको परिवारलाई झापाली समाज माल्टाले आर्थिक सहयोग प्रदान गरेको छ। समाजले संकलन गरेको एक लाख साठी हजार तीनसय एकचालीस रूपैयाँ बराबरको सहयोग रकम स्वर्गीय न्यौपानेकी आमा भगवती न्यौपानेको नाममा रहेको एनआईसी एशिया बैंक खातामा एकमुष्ट रूपमा पठाइएको छ।
समाजका कोषाध्यक्ष त्रिदेव प्रसाईको माल्टास्थित खातामा संकलन गरिएको उक्त रकम नेपालस्थित सोही खातामार्फत पठाइएको जानकारी झापाली समाज माल्टाले दिएको हो।
स्वर्गीय न्यौपानेको सम्झनामा समाजले सञ्चालन गरेको सहयोग संकलन अभियानमा माल्टा तथा गोजोमा बसोबास गर्ने नेपाली समुदायले सक्रियतापूर्वक साथ दिएका थिए। समाजका अध्यक्ष मुक्ति पुरीका अनुसार, “दुःखद घडीमा हाम्रो सानो सहयोगले परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले हामीले यो अभियान सञ्चालन गरेका थियौं। झापाली समाज माल्टा सधैं दुःखमा परेका नेपालीहरूका साथमा रहँदै आएको छ।”
युवा उपाध्यक्ष लालकाजी श्रेष्ठले भने, “यस्ता कठिन घडीमा झापाली समाज माल्टाले सधैं अग्रसर भई सहयोग गर्दै आएको छ। यसअघि भएका हरेक घटनामा हामीले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् माल्टासँग सहकार्य गर्दै आएका थियौं। तर हाल सङ्गठनभित्रको विवादका कारण यसपटक हामीले प्रत्यक्ष रूपमा पीडित आमाको खातामा रकम पठाएका छौं।”
२५ वर्षीय रोबर्ट न्यौपाने, नवलपरासी जिल्लाको देवचुली नगरपालिका–१३, दलदले स्थायी बासिन्दा, सन् दुई हजार पच्चीस जुलाई आठ गते बिहान एक बजे स्लेइमाको समुद्री किनारमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाएका थिए। उनी वि.सं. दुई हजार अठहत्तर सालमा रोजगारीको सिलसिलामा माल्टा आएका थिए र ओर्मी क्षेत्रमा बसोबास गर्दै आएका थिए।
शव व्यवस्थापन, नेपाल पठाउने प्रक्रिया तथा काजकिरिया खर्चमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग अभियान सञ्चालन गरिएको समाजले जनाएको छ।



