माल्टा नेपाल अनलाइन
एम्सिदा, माल्टा / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् माल्टाको नयाँ कार्यसमितिलाई स्वागत, बधाई तथा शपथ कार्यक्रम मंगलबार एम्सिदामा सम्पन्न भएको छ।
एनआरएनए माल्टाको निर्वाचन समितिका संयोजक भुवन अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का मानार्थ सदस्य दिपक ओली र विशिष्ट अतिथिको रूपमा आइसीसी महिला संयोजक अनुजा प्रधानको उपस्थिति रहेको थियो।
सत्यनारायण झाको नेतृत्वमा निर्विरोध निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक अर्यालले शपथ गराएका थिए। सो अवसरमा नव निर्वाचित टिमलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, एनआरएन अभियन्ता तथा माल्टामा रहनु भएका आप्रवासी नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरुले एनआरएनए माल्टा आप्रवासी नेपालीहरूको साझा संस्था भएको उल्लेख गर्दै संस्थाको हित र समृद्धिका लागि सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए।
नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरूले संस्था तथा विधानको पालना गर्दै आप्रवासी नेपालीहरूको हितमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अध्यक्षमा सत्य नारायण झा, महासचिवमा भक्त बहादुर भण्डारी, उपाध्यक्ष पदमा भुवन झा, राजु विक, ललित पाण्डे, तेजविक्रम खड्का र बिरोजंग पाण्डे,त्यस्तैगरी महिला उपाध्यक्षमा प्रभा राई, युवा उपाध्यक्षमा श्याम कुमार बस्नेत, उपमहासचिवमा किरण बुढाथोकी निर्वाचित भएका छन्।
त्यस्तै, सचिव पदमा दिपक शाही ठकुरी, भरत अर्याल र किरण बस्याल, कोषाध्यक्षमा दीपेन्द्र कार्की, सह–कोषाध्यक्षमा रेशम विक, युवा संयोजकमा सुदीप विक तथा महिला संयोजकमा प्रतिभा सार्की निर्विरोध निर्वाचित भएकी हुन्।
सदस्यतर्फ सूर्य बहादुर थापा, सन्तोष अधिकारी, सुबास लामिछाने, दिर्घ सिंह गुरुङ, सुवास पुरी, प्रकाश वान्तवा, अरुन कुमार थेबे र दर्शन लिम्बु निर्विरोध निर्वाचित भएका छन्।
कार्यक्रमको अन्त्यमा निर्वाचन समितिका संयोजक भुवन अर्यालले सबै निर्वाचित पदाधिकारी र सदस्यहरूलाई सामूहिक रूपमा शपथ गराएका थिए।




