माल्टा पाल अनलाइन / गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा लगायत विभिन्न सामाजिक संघ–संस्था, बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियन्ता तथा एनआरएनए अभियन्ताहरूको उपस्थितिमा २०२३–२०२५ कार्यसमितिको आर्थिक कारोबार अनुमोदन गरिएको छ।
अगस्ट २४ गते एलेक्जान्ड्रा होटल, माल्टामा आयोजित बैठकमा २०२३–२०२५ कार्यसमितिको सम्पूर्ण आर्थिक कारोबार तथा आर्थिक विवरण प्रस्तुत गरिएको थियो। प्रस्तुत विवरणमाथि उपस्थित प्रतिनिधिहरूबीच छलफल, समीक्षा तथा विचार–विमर्श गरिएको थियो ।
छलफलका क्रममा विगतको आर्थिक कारोबारसँग सम्बन्धित रूपमा उठेका विभिन्न प्रश्न, जिज्ञासा तथा विषयवस्तुबारे सम्बन्धित पक्षबाट आवश्यक जानकारी तथा स्पष्टता प्रस्तुत गरिएको थियो। उपलब्ध आर्थिक विवरण तथा अभिलेखका आधारमा आर्थिक कारोबार पारदर्शी रूपमा प्रस्तुत गरिएको बैठकले जानकारीमा लिँदै २०२३–२०२५ कार्यसमितिको आर्थिक कारोबार तथा आर्थिक विवरणलाई सर्वसम्मत रूपमा अनुमोदन तथा पारित गर्ने निर्णय गरेको एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष निरज श्रेष्ठले बताए ।
बैठककै क्रममा २०२३–२०२५ कार्यसमितिको आर्थिक कारोबारबाट बाँकी रहेको १९ हजार २ सय ५० युरो ३१ सेन्ट रकम नयाँ २०२६–२०२७ कार्यसमितिलाई विधिवत् रूपमा हस्तान्तरण गरिएको छ। उक्त रकममध्ये १५ हजार ५ सय नगद र ३ हजार ७ सय ५० युरो ३१ सेन्ट बिधुतिय मार्फत हस्तान्तरण गरिएको निर्णयपत्रमा उल्लेख छ।
उक्त रकम पुरानो कार्यसमितिको तर्फबाट नयाँ कार्यसमितिलाई बुझाइएको र नयाँ कार्यसमितिको तर्फबाट विधिवत् रूपमा बुझिलिएको जनाइएको छ। संघ–संस्थाका प्रतिनिधि तथा उपस्थित प्रतिनिधिहरूको रोहवरमा आर्थिक जिम्मेवारी तथा बाँकी रकम हस्तान्तरण प्रक्रिया सम्पन्न भएको एनआरएनए माल्टाका सचिब किरण बुढाथोकीले बताए ।
बैठकले आगामी २०२६–२०२७ कार्यकालमा हुने सम्पूर्ण आर्थिक कारोबार तथा आर्थिक गतिविधिमा पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। आवश्यक आर्थिक विवरण सम्बन्धित निकाय तथा सरोकारवालासमक्ष नियमानुसार प्रस्तुत गर्ने प्रतिबद्धता नयाँ कार्यसमितिले जनाएको छ।
बैठकमा विगतको आर्थिक कारोबारको समीक्षा तथा अनुमोदन, बाँकी रकमको हस्तान्तरण र आगामी कार्यकालको आर्थिक पारदर्शिता तथा जवाफदेहिता सम्बन्धी विषयहरूमा छलफल गरी उपस्थित प्रतिनिधिहरूको जानकारी, सहमति तथा अनुमोदनमा निर्णय अभिलेखका रूपमा सुरक्षित राख्ने निर्णय गरिएको छ।
बैठकमा २०२३–२०२५ कार्यसमितिका अध्यक्ष रेमलाल खनाल (रेम्स), उपाध्यक्ष प्रेम राज फोम्बो लिम्बु र सत्य नारायण झा, युवा उपाध्यक्ष विजय परियार, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य दामोदर लामिछाने, आइसीसी सदस्य भुवन अर्याल र नबिन गिरी लगायतको उपस्थिति थियो।
त्यसैगरी २०२६–२०२७ कार्यसमितिका वरिष्ठ उपाध्यक्ष निरज श्रेष्ठ, उपाध्यक्षहरू विजय परियार, ललित पाण्डे, राजु विश्वकर्मा र अमर बहादुर राउत, युवा उपाध्यक्ष श्याम कुमार बस्नेत (अंश), उप–महासचिवहरू समुन्द्र भट्टराई र किरण बुढाथोकी, सचिवहरू निरज श्रेष्ठ र एस.बी. गुरुङ, कोषाध्यक्ष दामोदर लामिछाने, सह–कोषाध्यक्ष हेमा तामाङ, युवा संयोजक रोशन तिवारी, सदस्यहरू दर्शन लिम्बु र दिनेश नेपाली तथा आइसीसी सदस्य शंकर पोख्रेल लगायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकबाट आर्थिक कारोबार, आर्थिक विवरण, उठेका प्रश्न तथा प्रदान गरिएका जवाफ, आर्थिक पारदर्शिता, बाँकी रकमको हस्तान्तरण तथा आगामी कार्यकालको आर्थिक जवाफदेहितासम्बन्धी सम्पूर्ण विषयलाई उपस्थित प्रतिनिधिहरूको जानकारी, छलफल तथा सहमतिमा सर्वसम्मत रूपमा अनुमोदन तथा पारित गरी अभिलेखमा राख्ने निर्णय गरिएको छ।



