माल्टा नेपाल अनलाइन
अगष्ट १० गतेको आइतबार बिहान माल्टाको आकाश सामान्य थियो, तर एक सडकमा भएको दुःखद दुर्घटनाले ४२ वर्षीय खिम बहादुर पुनको जीवन अकस्मात समाप्त गर्यो।
म्याग्दीको पहाडी गाउँमा जन्मिएका, कास्कीको पोखरामा केही वर्ष बिताएका र रोजगारीका लागि माल्टामा ३ वर्षदेखी रोजगारी गरिरहेका पुन इमानदार, मेहनती र सरल स्वभावका कारण समुदायमा प्रिय थिए। उनीसँग भेट हुने जो–कोहीको मनमा उनको सहज मुस्कान र विनम्र व्यवहार बस्ने गर्थ्यो।
दुर्घटनापछि केही दिनसम्म नेपाली समुदाय स्तब्ध रह्यो। आज बिहानैदेखि माल्टास्थित माटर डेई अस्पतालको मोर्चुरी परिसरमा मानिसहरूको भीड भिडभाड थियो । करिब करिब हजारौंको संख्यामा नेपाली दाजुभाइ–दिदीबहिनी, विभिन्न संघ–संस्था र समुदायका प्रतिनिधिहरूले उनको पार्थिव शरीरलाई अन्तिम पटक देख्न, श्रद्धाञ्जली अर्पण गर्न र आँसुमा विदा गर्न उपस्थित भए। वातावरण यति भावुक थियो कि बोल्ने शब्दहरू भन्दा मौन आँसु बढी प्रभावकारी देखिन्थ्यो।
कार्यक्रमको प्रारम्भमा एनआरएनए माल्टा अध्यक्ष सत्यनारायण झा र पूर्व अध्यक्ष रेमलाल खनालले पुनको समुदायप्रतिको योगदान, सहयोगी स्वभाव र जीवनप्रतिको निष्ठाको स्मरण गर्दै गहिरो संवेदना प्रकट गरे। त्यसैबीच वल्ट र बोल्ट मा कार्यरत नेपाली युवाहरूले “खिमका लागिन्याय दिलियोस्” ‘Justice for Khim’ लेखिएका पोस्टर बोकेर उपस्थित जनाएका थिए । उनीहरूको स्वरमा पीडा र न्यायको माग एकैसाथ मिसिएको थियो।
मगर समाज माल्टाले आफ्नै समाजको झण्डा ओढाएर पुनलाई अन्तिम बिदाई गर्यो। कार्यक्रम सकिएपछि सयौं मानिसहरू एयरपोर्टसम्म साथ दिँदै हिँडे। पार्थिव शरीर टर्किश एयरलाइन्सको विमानमा राखिँदै गर्दा, राष्ट्रिय गानको सम्मान गुञ्जियो— यो केवल बिदाई मात्र होइन, जीवनभरको श्रम, योगदान र सम्झनाप्रतिको सम्मान पनि थियो।
एनआरएनए माल्टाका अध्यक्ष झाको अनुसार पुनको पार्थिव शरीर आगामी अगष्ट १५ गते बिहान नेपाल पुग्नेछ र स्थायी घर म्याग्दीमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएका छन्। यस सम्पूर्ण प्रक्रियामा माल्टास्थित नेपाली समुदाय, एनआरएनए माल्टा, स्थानीय प्रशासन र सरोकारवाला निकायहरूले पूर्ण सहयोग पुर्याएका थिए।
कार्यक्रमको अन्त्यमा, सबै सहभागीहरूले एक मिनेट मौन धारण गरे। अनि मौनको गहिराइमा, मानिसहरूले आफ्नो मनभित्र पुनको मित्रता, योगदान र त्यो सदैव झल्किने स्मित मुस्कानलाई सम्झिए । जसलाई अब केवल सम्झनामा मात्र भेट्न स्मरण गर्न सकिने छ।