माल्टा–नेपाल अनलाइन / अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी, माल्टाद्वारा लोकगायक खेम सेञ्चुरी र चर्चित मोडल ओबी रायमाझी सम्मानित भएका छन् । सोमबार माल्टामा भएको सम्मान तथा भेटघाट कार्यक्रममा सेन्चुरी र रायमाझी सम्मानित भएका हुन ।

खेम सेञ्चुरीले गाएको ‘नेपाली खाना मीठो’ गीतको छायांकन पनि माल्टामा गरिएको थियो। यो गीतले नेपाली खाना र परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने आसा गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा नेपालका लागि माल्टाका पर्यटन प्रवर्द्धक प्रकाश भण्डारीले नेपाली कला, संगीत र संस्कृतिलाई प्रवासी जीवनमा जोगाउनु प्रेरणाको स्रोत भएको उल्लेख गर्दै भने, “नेपाली कला, संगीत र संस्कृति नै हाम्रो पहिचान हो। यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै नेपालप्रतिको आकर्षण पनि बढाउँछ।

संस्थाका वरिष्ठ उपाध्यक्ष राजु आर्याल (बाबु)ले स्वागत मन्तव्य दिँदै विदेशी भूमिमा पनि नेपाली कला र संस्कृतिलाई जोगाउने कलाकारहरूलाई सम्मान गर्नु संस्थाको कर्तव्य भएको बताए।
त्यसैगरी, माल्टा नेपाल अनलाइनका प्रधान सम्पादक प्रकाश बगालेले यस्ता कार्यक्रमले प्रवासी नेपाली समाजमा सकारात्मक ऊर्जा थप्ने बताए। “उनले भने, प्रतिभाको कदर गर्न सके मात्रै समाज बलियो हुन्छ।”
सम्मानित मोडल ओबी रायमाझीले माल्टाजस्तो मुलुकमा सम्मान पाएकोमा खुसी व्यक्त गर्दै, “यसले मेरो जिम्मेवारी अझ बढाएको छ। मैले गरेको कामको कदर हुँदा हौसला थपिएको बताए ।
लोकगायक खेम सेञ्चुरीले पनि मन्तव्य दिँदै, “विदेशमा बसेर नेपाली गीत–संगीतको सम्मान हुँदा स्वदेशको माया झन् बढ्छ। यस सम्मानले मलाई संगीत क्षेत्रमा अझ सक्रिय हुन प्रेरणा दिएको बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रीय उपाध्यक्ष श्याम भण्डारी लगायत अन्य व्यक्तित्वहरूको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ सल्लाहकार तथा माल्टा नेपाल अनलाइनका सम्पादक धनराज अबिरलले गरेका थिए। उनले कार्यक्रमलाई आकर्षक रुपमा संचालन गरेका थिए । सहभागीहरूले यस्ता कार्यक्रमले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिक्रिया दिएका छन् ।
कार्यक्रम बासुदेव भुसालको अध्यक्षतामा बुजीब्बा स्थित लुम्बिनी होटलमा भव्य रूपमा सम्पन्न भएको थियो। आयोजक संस्थाले आगामी दिनमा पनि यस्तै रचनात्मक र सम्मान कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना रहेको जनाएका छन् ।



