बाबुको पहिचान नखुलेमा आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयनमा

Share:

काठमाडौं /बाबुको पहिचान नखुलेका नेपाली नागरिकले अब आमाको नामका आधारमा नागरिकता प्राप्त गर्न सक्ने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ। नेपाल नागरिकता नियमावली २०६३ मा गरिएको चौथो संशोधन नेपाल राजपत्रमा प्रकाशित भएसँगै यो व्यवस्था लागू भएको हो।
मन्त्रिपरिषद्को बैठकले पौष ११ गते संशोधित नियमावली स्वीकृत गरेको थियो भने पौष २१ गते राजपत्रमा प्रकाशन भएपछि यसले कानुनी मान्यता पाएको हो। नियमावली कार्यान्वयनका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन पठाइसकेको जनाएको छ।
यसअघि नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन २०८२ मा आमाको नामबाट नागरिकता दिने प्रावधान समावेश गरिएको थियो। सो ऐनलाई व्यवहारमा कार्यान्वयन गर्न नियमावली संशोधन गरिएको गृह मन्त्रालयको स्पष्टिकरण छ।
संशोधित व्यवस्थाअनुसार बाबु वा आमा मध्ये कुनै एकले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्को अभिभावक नागरिकता नलिँदै मृत्यु भएको, बेपत्ता भएको वा सम्पर्कविहीन रहेको अवस्थामा सन्तानले अङ्गीकृत नागरिकता पाउन सक्ने व्यवस्था गरिएको छ। त्यस्तै नेपाली आमाबाट विदेशमा जन्मिएका तर विदेशी नागरिकता वा राहदानी नलिएका, बाबुको पहिचान खुलाउन नसकेका र नेपालमा स्थायी रूपमा बसोबास गरिरहेका व्यक्तिलाई पनि अङ्गीकृत नागरिकता दिने बाटो खुलेको छ।
नयाँ व्यवस्थाले प्रमुख जिल्ला अधिकारीलाई आवश्यक छानबिनपछि यस्ता नागरिकलाई अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्ने अधिकार दिएको छ। यसअघि वैवाहिक अङ्गीकृत बाहेकका नागरिकता गृह मन्त्रालयको निर्णयपछि मात्र दिइँदै आएको थियो।
नियमावली संशोधनसँगै नागरिकता जारी गर्दा स्वघोषणालाई पनि आधार मानिने व्यवस्था गरिएको छ र त्यसका लागि छुट्टै ढाँचा तय गरिएको छ। साथै, यसअघि अस्पष्ट रहेको नाबालक परिचयपत्र वितरणसम्बन्धी विषयलाई पनि स्पष्ट गरिएको छ। विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरी वैवाहिक अङ्गीकृत नागरिकता लिन चाहेको अवस्थामा नेपालमा बसोबासका लागि आवश्यक भिसा अद्यावधिक हुनुपर्ने व्यवस्था पनि थपिएको छ।
सरकारले नागरिकता सेवा प्रक्रियालाई सरल, प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यले नियमावली संशोधन गरिएको जनाएको छ। गृह मन्त्री ओम प्रकाश अर्यालको पहलमा लामो समयदेखि देखिँदै आएका नागरिकतासम्बन्धी व्यवहारिक जटिलता समाधानतर्फ महत्वपूर्ण कदम चालिएको मन्त्रालयको भनाइ छ।

Share:

सम्बन्धित समाचारहरू