माल्टा नेपाल अनलाइन डेस्क /माल्टा र गोजोमा बसोबास गर्ने नेपालीहरूका लागि राहदानी नवीकरण तथा कन्सुलर सेवा घुम्ती शिविर अप्रिल २८ देखि मे २, २०२६ सम्म सञ्चालन हुने भएको एनआरएनए माल्टाले जनाएको छ। उक्त सेवासम्बन्धी सम्पूर्ण प्रक्रिया गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय समिति माल्टा ले सार्वजनिक गरेको हो।
एनआरएनए माल्टाका अनुसार उक्त सेवा नेपाली राजदूतावास, म्याड्रिड को समन्वयमा सञ्चालन हुनेछ।
एनआरएनएले जनाए अनुसार राहदानी नवीकरण गर्न इच्छुक सेवाग्राहीहरूले नेपाल सरकारको आधिकारिक पोर्टलमार्फत अनलाइन आवेदन फाराम भर्नुपर्नेछ। फाराम भर्दा ‘Location’ मा “Other” र ‘Country’ मा “Spain (Madrid Mission)” छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै, पुरानो राहदानी र नेपाली नागरिकताको अगाडि–पछाडिको स्पष्ट प्रतिलिपि (३००KB भन्दा कम साइजमा) अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।
एनआरएनएका अनुसार अनलाइन आवेदन पूरा गरेपछि सेवाग्राहीहरूले बायोमेट्रिक अपोइन्टमेन्टका लागि आफ्नो पूरा विवरण—नाम, राहदानी नम्बर, म्याद सकिने मिति, इमेल ठेगाना, मोबाइल नम्बर तथा अपोइन्टमेन्ट मिति—ह्वाट्सएपमार्फत सम्बन्धित सम्पर्क नम्बरमा अप्रिल २७, २०२६ दिउँसो १:०० बजेसम्म उपलब्ध गराउनुपर्नेछ।
त्यसैगरी, यसअघि स्पेनस्थित दूतावासमार्फत राहदानी नवीकरण प्रक्रिया पूरा गरिसकेका र प्रकाशित सूचीमा नाम समावेश भएका सेवाग्राहीहरूको राहदानी माल्टामै वितरण गरिने व्यवस्था मिलाइएको एनआरएनएले जनाएको छ। त्यस्ता सेवाग्राहीहरूले आफ्नो नाम, पुरानो राहदानी नम्बर र सम्पर्क विवरण अप्रिल २६, २०२६ दिउँसो १:०० बजेसम्म उपलब्ध गराउनुपर्नेछ।
एनआरएनएका अनुसार अनलाइन फाराम भर्न कुनै प्राविधिक समस्या भएमा बिर्किर्कारास्थित एनआरएनए कार्यालयमा सोमबारदेखि शनिबारसम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म उपस्थित भई सहयोग लिन सकिने व्यवस्था रहेको छ।
थप जानकारी तथा समन्वयका लागि माल्टामा रहेका नेपालीहरूले भरत अर्याल (+356 77718755) र रोशन तिवारी (+356 77782598) तथा गोजोमा रहेका नेपालीहरूले बिक्की लिम्बु (+356 99000082) सँग सम्पर्क गर्न सकिने जनाइएको छ।
त्यसैगरी, संस्थागत जानकारीका लागि एनआरएनए एनसीसी माल्टाका अध्यक्ष रोशन गिरी तथा वरिष्ठ उपाध्यक्ष निरज श्रेष्ठसँग पनि सम्पर्क गर्न सकिने एनआरएनएले जनाएको छ।
एनआरएनए माल्टाले सम्पूर्ण माल्टाबासी नेपाली सेवाग्राहीलाई समयमै प्रक्रिया पूरा गर्न र यस सूचना समुदायमा व्यापक रूपमा जानकारी अनुरोध गरेको छ।



