माल्टा नेपाल अनलाइन डेस्क / युरोपेली मुलुक माल्टामा बसोबास गर्ने नेपाली समुदाय फेरि एकपटक गहिरो शोकमा परेको छ। हिजोको दुःखद घटनाको पीडा अझै सेलाउन नपाउँदै आज बिहान आएको अर्को खबरले समुदायलाई स्तब्ध बनाएको छ।
चितवनको भरतपुर महानगरपालिका–१८,गुञ्जनगर घर भई सन् २०२२ जनवरीमा माल्टा आएका तुल्सीराम तामाङको हृदयघातका कारण आज बिहान दुःखद निधन भएको छ । माल्टाको बुजिब्बा क्षेत्रमा बसोबास गर्दै आएका उनी सेन्ट जुलियन्सस्थित एक रेस्टुरेन्टमा कार्यरत थिए ।
मृतकका भाइ आसबहादुर तामाङका अनुसार राति एक्कासी स्वास्थ्य अवस्था बिग्रिएको खबर पाएपछि उनी हतारिँदै भेट्न पुगेका थिए। तर अस्पतालबाट खटिएको चिकित्सक टोलीले त्यतिबेलासम्म तुल्सीराम तामाङको निधन भइसकेको जानकारी दिएको उनले दुःख व्यक्त गर्दै बताए।
परदेशमा आफ्नो परिवारको भविष्य सुरक्षित बनाउन निरन्तर परिश्रम गर्दै आएका एक नेपाली श्रमिकको यसरी अकस्मात् निधन हुनु अत्यन्तै पीडादायी बनेको छ। यस घटनाले विदेशमा रहेका नेपालीहरूको स्वास्थ्य, जीवनशैली र नियमित स्वास्थ्य परीक्षणप्रति गम्भीर ध्यान दिनुपर्ने सन्देश समेत दिएको छ।
हाल उहाँको पार्थिव शरीर माटरदेई अस्पतालको मोर्चरीमा राखिएको छ। घटनापछि गैरआवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद् माल्टाले मृतक परिवारसँग समन्वय गरिसकेको जनाएको छ। परिषद्का अध्यक्ष रोशन गिरीले यस कठिन घडीमा आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी, पार्थिव शरीर नेपाल पठाउने प्रक्रिया तथा आवश्यक कागजात तयारी र आर्थिक व्यवस्थापनको काम छिट्टै अगाडि बढाइने परिषद्ले जनाएको छ। स्वर्गीय तुल्सीराम तामाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् माल्टा तथा सम्पूर्ण नेपाली समुदायले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
परदेशमा दुःख–सुख सँगै बाँड्ने नेपाली समुदाय यस्ता विपत्तिका घडीमा अझै एकताबद्ध हुने गरेको देखिन्छ। यसपटक पनि समुदायले देखाएको साथ र सहयोगले शोकलाई सामना गर्ने शक्ति प्रदान गर्ने विश्वास गरिएको छ।


