भोली राष्ट्रिय शोक, मृतक परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय

Share:

काठमाडौं, असोज २२

इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । तर, सार्वजनिक बिदा भने दिइएको छैन । सोमबार बसेको मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

यस अकल्पनीय घटनामा दिवङ्गत भएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते मंगलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने सरकारले निर्णय गरेको सरकारकी प्रवक्ता तथा सुचना तथा सन्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।

साथै परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन पहल गर्ने भएको छ । बैठकले इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने र स्वदेश फर्कन चाहने इजरायलमा रहेका नेपालीहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने तथा अध्ययन लगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय पनि मन्त्रीपरिषदको बैठकले गरेको छ ।

इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ (तीन) महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने, इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरुको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय भएको सुचना तथा सन्चार प्रविधि मन्त्री शर्माले जानकारी दिईन् । इजरायलमा रहेका नेपालीहरुको उद्धारको लागि आवश्यकता अनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने निर्णय पनि भएको छ ।

यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असर समेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्ने निर्णय पनि मन्त्रीपरिषदको बैठकले गरेको छ ।

इजरालयमा हमासको आक्रमणमा परि कैलालीको घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपाली, कैलाली बौनियाँका आशिष चौधरी, दार्चुलाको लेकम गाउँपालिका–५ का दीपेशराज विष्टको मृत्यु भएको छ ।

त्यस्तै, डोटीको तत्कालीन पचनली गाविस–३ का राजन फुलारा, डोटीकै तत्कालीन लामिखाल गाविस–८ का पदम थापा र सल्यानको शारदा नगरपालिका–३ का प्रवेश भण्डारीको मृत्यु भएको छ । त्यस्तै, दार्चुलाको मालिकार्जुन नगरपालिका–४ का लोकेन्द्रसिंह धामी, धनुषाको तत्कालीन सपही गाविस–६ का आनन्द साह र सुनसरीको तत्कालीन मधुवन गाविस–१ का राजेशकुमार स्वर्णकारको मृत्यु भएको छ ।

Share:

सम्बन्धित समाचारहरू