माल्टा नेपाल अनलाइन डेस्क / परदेशमा रोजगारीका लागि पुगेका एक नेपाली युवाको असामयिक निधनले माल्टा र गोजोमा बसोबास गर्ने नेपाली समुदाय शोकमा डुबेको छ।
२८ वर्षीय रामकुमार सिजाली, जो सन् २०२२ मा माल्टा आएका थिए, गोजो टापुमा निधन भएपछि सम्पूर्ण समुदाय स्तब्ध बनेको छ। काभ्रेपलाञ्चोक जिल्ला, साबिक सौर्य–०९ वाल्टिङ घर भएका सिजाली एसीजे कम्पनीमार्फत कार्यरत थिए। मिलनसार, हँसिला र सहयोगी स्वभावका कारण उनी सबैका बीच प्रिय थिए।
उनको अचानक निधनले साथीभाइ तथा चिनेजानेकाहरूलाई गहिरो आघात पुगेको छ। एलसीसी गोजोका सचिव विक्की लिम्बूका अनुसार घटनाको जानकारी तत्कालै नेपालस्थित परिवार र सम्बन्धित कम्पनीलाई गराइसकिएको छ। हाल उनको पार्थिव शरीर गोजो अस्पतालको मोर्चरीमा राखिएको छ।यस दुःखद परिस्थितिमा एलसीसी गोजो र एनआरएनए एनसीसी माल्टाको समन्वयमा आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ।
एनआरएनए माल्टाका रोशन गिरीका अनुसार घटनासम्बन्धी प्रहरी अनुसन्धान जारी रहेको छ। अनुसन्धान सम्पन्न भएपछि आवश्यक कागजी प्रक्रिया पूरा गरी पार्थिव शरीर नेपाल पठाइनेछ।
उनले थप जानकारी दिँदै गोफन्डमार्फत सहयोग संकलन सुरु भइसकेको र यो लिन्क मार्फत सहयोग गर्न सकिने छ ।
सबैको साथ र सहयोगले छिट्टै पार्थिव शरीर नेपाल पठाउन सकिने विश्वास व्यक्त गरे।
परदेशमा घटेको यो घटना केवल एक व्यक्तिको क्षति मात्र नभई सम्पूर्ण नेपाली समुदायको साझा पीडा बनेको छ। अहिले सबैको एउटै चाहना छ—उहाँलाई अन्तिमपटक आफ्नै माटोमा पुर्याउने। यसका लागि माल्टा र गोजोमा रहेका सम्पूर्ण नेपाली समुदायलाई एकजुट भई सहयोग गर्न अपिल गरिएको छ।


