गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्क्षका उम्मेदवार तिलक प्रसाद गैरेले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् । चुनावी अन्र्तक्रिया गर्दै विभिन्न देश पुगेर उनले विदेशमा रहेका नेपालीका समस्याहरु सम्बोधन गर्न सक्ने बलियो एनआरएनएको खाँचो रहेको बताए ।
“रोजगारी खोज्दै विदेश आएका नेपालीलाई मरणोपरान्तपनि सहयोग राज्यले गर्न सकेन भन्ने व्यापक गुनासा छन्”, उनले भने, “शव लैजान पनि ६ महिना कुनुपर्ने, दाहसंस्कारमा सहयोग नपाउने अवस्था अन्त्य हुनुपर्छ।” उनले नेपालीलाई नेपाल सरकारले कहिल्यै उपेक्षा गर्न नहुने बताए । “कमाउँछु भनेर विदेशिएकाहरुले ज्यान गुमाउँदा त्यो परिवारले व्यहोर्ने क्षति राज्यले बुझ्न सक्नुपर्छ”, उनले भने, “सरकारले कम्तिमा दुःखमा साथ दिन सक्नुपर्छ ।”
गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्य, लेखा संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्षहुदै गैरे अध्यक्ष भएका थिए । हाल उनी युरोप उपसंयोजक हुन् । सहकोषाध्यक्षका उम्मेदवार गैरेले नेपालीलाई सधै नेपाली बन्ने अधिकार खोस्न नहुने बताए । “एक पटकको नेपाली सधैको नेपाली हुनुपर्छ”, उनले भने, “वंशजको आधारको नागरिकताले निरन्तरता पाउनुपर्छ, विदेशीलाई लखेट्ने नीति आयो भने हामी प्रवासीहरु कहाँ जाने ?” उनले नेपालप्रतिको आकर्षण बढाउने गरी प्रवासमा रहेका नेपालीलाई विकासमा समेत साझेदार बनाउने गरि एनआरएनएले कार्यक्रमहरु ल्याउने बताए ।
उनले नेपाली भाषा, संस्कृतिलाई विश्वव्यापिकरण गर्न विशेष कोष स्थापना गरेर कामहरु गरिने बताए । विदेशमा रहेर काम गरेका नेपालीका हरेक समस्या हल गर्ने बलियो एनआरएनए बनाउन उम्मेदवारी दिन लागेको बताए । गैरे पोर्चुगलको अध्यक्ष बनेका बेलामा पोर्चुगलमा ज्यान गुमाउनेका परिवारलाई दाहसंस्कार खर्च, श्रीमान वा श्रीमतिलाई पेन्सन व्यवस्था मिलाउने कामको सुरुवात गरेका थिए । कोभिडका बेला धेरै नेपालीलाई उपचारमा सहजीकरण, राहत व्यवस्था, सुत्केरीलाई सहयोग लगायतका कामको नेतृत्व गरेका थिए । युरोपमा समस्यामा रहेका नेपालीका समस्या हल गर्न सरकारको समेत ध्यानाकर्षण गराएका थिए ।
नवलपुरको गैंडाकोट घर भएका गैरे हाल पोर्चुगलको सफल व्यवसायी मानिन्छन् । १४ वर्षदेखि एनआरएनए अभियानमा सक्रिय छन् । गैरेले सामाजिक सेवाका कामहरु पनि गरेका छन् । पोर्चुगललगायत युरोपमा असामयिक निधन भएका व्यक्तिहरूको शव नेपाल पठाउन व्यक्तिगतरूपमा लाखौं रुपैयाँ सहयोग गर्दै आएका छन् । पोर्चुगलमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न, काममा लगाइदिने, नेपाल पठाउने काममा खटिएका छन् । गैरेले नेपालमा पनि थुप्रै सामाजिक कामहरु गरेका छन् । नवलपुरमा ह्वील चेयर वितरण, कोरोना महामारीको बेला अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गरेका थिए । उनले गरिब तथा विपन्न समुदायका धेरै परिवारलाई शिक्षा, स्वास्थ्य, आवासका लागि थुप्रै कामहरु गरेका छन् । गैरेले ७ सुत्रिय प्रतिवद्धता सहित चुनावी मैदानमा आएका छन् । एनआरएनएको फजुल खर्च कटौती गर्ने, पारदर्शी बनाउने, आइसीसी र एनसीसीको कोष सबलिकरण गर्ने लगायतका योजनाहरु अघि सारेका छन् ।
