एनआरएनएको नतिजा विवादः निर्वाचन समितिले सत्यतथ्य बुझ्दै, कसले कति मत ल्याए ?

Share:

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतदानमा धाँदली भएको आरोप लागेपछि निर्वाचन समितिले सत्यतथ्य बुझ्ने भएको छ । उपाध्यक्षका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट प्राप्त मत शून्य देखिएपछि निर्वाचनको विश्वसनीयतामा प्रश्न उठेको थियो । अनलाइन भोटिङ गराउने जिम्मा अष्ट्रेलियाको भेरो भोटिङ कम्पनीले पाएको थियो ।

प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुंगानाले शून्य मत आएको विषयमा भेरो भोटिङ कम्पनीलाई अनलाइनमार्फत पत्राचार गरिएको बताए । जवाफ आएपछि सत्यतथ्य सार्वजनिक गरिने बताए । कम्पनीले इमेलबाट पठाएको विवरण प्राप्त हुनासाथ पाँच सदस्यीय निर्वाचन कमिटीले नतिजा सार्वजनिक गरेको थियो । तर, निर्वाचनमा धाँदली भएको भन्दै रद्द गर्न माग गरेका छन् । उपाध्यक्षमा विजयी घोषणा गरिएका खगेन्द्र न्यौपानेले समेत निर्वाचनमा धाँधली भएको भन्दै आफू विजयी भएको नतिजालाई नस्वीकार्ने बताएका छन् ।

सार्वजनिक गरिएको नतिजा अनुसार एनआरएनएको अध्यक्षमा डा. बद्री केसी (रसिया) निर्वाचित भएका छन् । अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित भएका हुन् । केसीले एक हजार ३७८ मत पाए । उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरके (कतार)ले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठ (जापान)ले एक हजार २२५ मत र रविना थापा (अमेरिका)ले ४७ मत पाए ।
उपाध्यक्षमा डा. विनोद श्रेष्ठ (अष्ट्रेलिया), डा.हेमराज शर्मा (यूके), खगेन्द्र न्यौपाने (मलेसिया), राजु रेग्मी (कतार), रामशरण सिंखडा (यूके) र रोविनप्रसाद शेरचन (जापान) निर्वाचित भएका छन् । युवा उपाध्यक्षमा रोशन थापा (जाम्बिया) दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई (यूके) निर्वाचित भएकी छन् । महासचिवमा गौरीराज जोसी (अमेरिका) निर्वाचित भएका छन् । उनले दुई हजार ३७ मत ल्याए । काठमाडौंमा भएको महाधिवेसनमा विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।

Share:

सम्बन्धित समाचारहरू