इजरायलबाट तीन नेपालीको शव काठमाडौँ ल्याइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रद्धाञ्जली दिइएको छ। इजरायलमा मारिएका १० मध्ये ४ नेपालीको शव नेपाल पठाइएको छ। तीन जना शव ल्याइसकिएको छ भने एक जनाको आज दिउँसो १ बजे ल्याइने भएको छ ।
विमानस्थलमा श्रद्धाञ्जली दिएर शवहरुलाई विमानस्थलबाट महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ। उनीहरु बिद्रोही समूह हमासको आक्रमणमा मारिएका हुन् । इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै नेपाल ल्याइएको हो।
इजरायलमा मारिएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दिपेशराज बिस्टको शव ल्याइएको छ भने आशिष चौधरीको दिउँसो ल्याइने भएको छ । गत अक्टोबर ७ तारिक गाजास्थित हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।