गैँडाकोट खेलकुद समितिले गैर आवासिय नेपाली संघ एनआरएनएमा नवनिर्वाचित समितिका पूर्वपदाधिकारीलाई सम्मान गरेको छ । बिहीवार एक विशेष कार्यक्रम गरी गैर आवासिय नेपाली संघ एनआरएनएमा नवनिर्वाचित सहकोषाध्यक्ष तिलकप्रसाद गैरे र आइसिसि सदस्य दिनेश अधिकारीलाई गैँडाकोट खेलकुद समितिले बधाई तथा सम्मान गरेको हो ।
एनआरएनएमा नवनिर्वाचित सहकोषाध्यक्ष तिलकप्रसाद गैरे गैँडाकोट खेलकुद समितिमा संस्थापक सचिव हुनुहुन्थ्यो भने एनआरएनए आइसिसि सदस्य दिनेश अधिकारी पूर्वअध्यक्ष हुनुहुन्थ्यो ।
सम्मान कार्यक्रममा बोल्दै एनआरएनएका सहकोषाध्यक्ष एवं गैँडाकोट खेलकुद समितिका संस्थापक सचिव तिलकप्रसाद गैरेले खेलकुदको विकासका लागि आफुले पहिले गरेको संघर्ष सम्झदै सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले विदेशमा रहेका नेपालीले स्वदेशमा लगानी गर्ने र युवाशक्तिलाई देशमै अवसर सिर्जना गरेर यहि बस्ने वातावरण मिलाउन पनि सक्दो सहयोग गर्ने बताउनुभएको छ । विदेशमा रहेका नेपाली बालबालिकालाई यहाँको भाषा, संस्कार, संस्कृति सिकाई देशप्रतिको माया अनुभुति गराउने कार्यक्रम गर्ने बताउनुभएको छ । उहाँले गैँडाकोट खेलकुद समितिलाई ६० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा बोल्दै एनआरएनए आइसिसि सदस्य दिनेश अधिकारीले खेलकुद समितिमा रहँदा गरेका काम सम्झदै खेलको विकासका लागि, खेलकुद मैदानका लागि देखेको सपनाले केही रुप लिँदा खुसी लागेको बताउनुभयो । गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले साथीहरुको योगदान सम्पूर्णको सहयोग र सकारात्मक सोचले सपना पुरा गर्न टेवा पु¥याएको बताउनुभयो । पहिले समितिले उठाएको कुरा संघिय सरकार आएपछि कार्यान्वयमा आएको बताउँदै अहिले एक पालिका एक खेलमैदान हुनु राम्रो पक्ष भएको बताउनुभयो ।
गैँडाकोट खेलकुद समितिका उपाध्यक्ष रमेश तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सचिव प्रकाश पौडेलले सहजिकरण गर्नुभएको थियो ।