बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई १० लाख दिने सरकारको घोषणा

Share:

काठमाडौँ – सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०/१० लाखका दरले राहत उपलब्ध गराउने निर्णय हो।

घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले सो घटनामा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले बताइन्।

सो घटनामा निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न र आगामी दिनमा त्यस्ता प्रकृतिका घटना हुन नदिन पनि गृह मन्त्रालयलाई मन्त्रिपरिषद् बैठकले सचेत गराएको छ। सरकारले सो घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन पनि सबैलाई अपील गरेको छ।

मन्त्रिपरिषद् बैठकले आगामी दिन त्यस्तो घटना हुन नदिने प्रतिवद्धतासमेत जनाएको छ। मन्त्री शर्माले आगामी दिनमा त्यस्ता घटना हुन नदिने गरी शतर्कता, संयमता अपनाउन गृह मन्त्रालय र मातहतका निकायलाई पनि बैठकले निर्देशन दिएको बताइन्।

Share:

सम्बन्धित समाचारहरू