धनराज विक (अविरल) डिसेम्बर १७ (युरोप)
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाका सल्लाकार राजु अर्याल (बाबू) ले माल्टामा नेपाली राजदूतावास स्थापना हुनुपर्ने बताएका छन् । माल्टामा आप्रवासी नेपालीहरुको संख्या धेरै भएको र उनीहरुले विभिन्न खालका कानूनी समस्या झेल्नु परेकोले आप्रवासी नेपालीको सहजताको लागि माल्टामा नेपाली राजदूतावास स्थापना हुनुपर्ने बताएका हुन् । राहदानी विभाग नेपाल र स्पेनमा रहेको नेपाली राजदूतावासको सहकार्य तथा एनआरएनए माल्टाको समन्वयमा माल्टामा डिसेम्बर १४ तारीख देखि सुरुभइ १८ तारीखसम्म संचालन हुने घुम्ती कन्सुलर सेवाको निरीक्षण गरी रहेका अर्यालले पत्रकार संग कुरागर्दै माल्टामा नेपाली राजदूतावास स्थापना हुनुपर्ने बताए । उनले भने,“ माल्टामा रहेका नेपालीको समस्यालाई बुझेर माल्टा सरकार संग समन्वय गरी नेपाली राजदूतावास स्थापना गर्न नेपाल सरकारसँग मेरो अनुरोध छ ।”
नेपालबाट श्रम गरेर आधिकारिक रुपमा माल्टा आउने अर्याल पहिलो व्यक्ति हुन् । उनी करिब १५ वर्षदेखि माल्टामा बस्दै आएका छन् । रोजगारीको सिलसिलामा माल्टामा रहेका आप्रवासी नेपालीले भोग्दै आएका समस्याको बारेमा अर्याल जानकार व्यक्ति हुन् । माल्टामा लामो समय अनुभव संगालेका अर्यालले यतिबेला माल्टामा नेपाली राजदूतावास आवश्यक रहेको भन्दै राजदूतावास स्थापना गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।
गैर आवासीय नेपाली संघको केन्द्रिय सदस्य समेत भैसकेका अर्यालले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको सफल अध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन् । हाल उनी एनआरएनए माल्टाको सल्लाहकारको भूमिकामा छन् । विगत देखि नै माल्टामा यसरी नै घुम्ती कन्सुलर टोली ल्याएर सेवादिने काम भइरहको छ । तर टोली ल्याएर सेवादिने यो काम त्यति सजिलो भने छैन् । नेपाल सरकार र राजदूतावासको आफ्ना नागरिक प्रतिको जिम्मेवारीको काम भएपनि टोली माल्टामा ल्याउनको लागि निकै दौडधुप गर्नु परेको दुःखद अनुभव उनले सुनाए ।
प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षको जिम्मेवारीमा रहेका अर्यालले माल्टामा रहेका आप्रवासी नेपालीको हीतमा बोल्दै आएका छन् । कानूनी अड्चन लगायतका विभिन्न समस्या झेल्दै आएका नेपालीलाई उनले आफूले सक्ने सहयोग पनि गर्दै आएका छन् । नमस्ते नेपाल मिनि मार्केटका संचालक समेत रहेका अर्यालले प्रत्यक्ष रुपमा सयौं नेपाली संग दैनिक भेटघाट हुने भएकोले पनि उनीहरुले भोग्नु परेका कानूनी अड्चन लगायतका समस्याको बारेमा आफू जानकार रहेकोले यी सबै समस्या समाधानका लागि माल्टामा नेपाली राजदूतावास स्थापना हुनुपर्नेमा उनले जोड दिए ।
स्पेनमा रहेको नेपाली राजदूतासासले युरोपका केही देश हेर्नुपर्ने भएकोले सजिलै समयमा सबै ठाउँमा पुग्न सकेको अवस्था छैन् । त्यसैले यस्तो अवस्थामा कागजपत्रको काम गर्न स्पेन होस् या नेपाल आउन जान विभिन्न कारणले धेरै कठिनाई हुने भएकोले समयमा कागजपत्रको कामगर्न नसकेको गुनासो नेपालीहरुले आफूलाई सुनाउने गरेको अर्यालले बताए । युरोपका अन्य देशभन्दा माल्टा आउन सजिलो भएकोले पनि नेपालीका लागि माल्टा गन्तव्यको देश बनेको छ । त्यसैले माल्टामा आप्रवासीको संख्या बढ्दै गएकोले पनि नेपाली राजदूतावास आवश्यक रहेको उनी बताउँछन् ।
सुदूपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नागरीलेले बाबू अर्याल सरले आफ्नो फेसबुक पेजबाट पनि माल्टामा नेपाली राजदूतावास आवश्यक रहेको लेख्नु भएको छ । उहाँले सही समयमा सही विषयको उठान गर्नु भएकोले सुदूपश्चिम सेवा समाज माल्टाको पूर्ण सहयोग रहने भन्दै अर्याल सरले उठाउनु भएको यस प्रश्तावमा माल्टामा रहेका सबै नेपालीेलाई राजदूतावास स्थापना गर्न साझा विचारका साथ एक ठाउँमा उभिन नागरीले अनुरोध गरेका छन् ।