माल्टा नेपाल अनलाइन डेस्क / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको राष्ट्रिय समन्वय परिषद् (एनसिसी माल्टा) को कार्यसमिति भङ्ग गरिएको छ । संघको विधान विपरीत मनोमानी तरिकाले संस्था संचालन गरेकोले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को १ सय ५औँ बैठकले रेमलाल खनाल अध्यक्ष रहेको एनआरएनए माल्टाको कार्यसमिति भङ्ग गरेको हो । संघको २०६० सालमा बनेको तथा २०७९ मा संशोधित विधानको धारा १७ को उपधारा १७.७ अनुसार परिषद्ले संस्थागत उद्देश्यअनुसार कार्य नगरेको, संघका निर्देशनको पालना नगरेको, समयमै महाधिवेशन नगरेको तथा सदस्य व्यवस्थापन प्रणाली एमआईएस) प्रयोग नगरेको भन्दै एनआरएनए माल्टा विघटन गरेको जनाएको छ ।
संघका अनुसार सदस्यता खुला गर्दा शुल्क संकलन गर्नुपर्ने, सदस्य विवरण एमआईएसमा अद्यावधिक गर्नुपर्ने, मिसायल प्रमाणीकरण गरेर मात्र सदस्यता प्रमाणपत्र प्रदान गर्नुपर्ने व्यवस्था छ । तर ती कानुनी प्रावधानहरूको पालना एनआरएनए माल्टाले नगरेको आरोप लागेको छ । माल्टामा रहेका आप्रवासी नेपालीहरु एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनालले अन्त्यमा आएर आफ्नो जिम्मेवारी सही तरिकाले पूरा गर्न नसकेको बताउँछन् । संस्थालाई विधि विधान बमोजिम प्रक्रियागत रुपमा अगाडी बढाउने दायित्व पनि अध्यक्ष खनालकै भएको र संस्थाको नीति नियम अनुसार दायित्व वहन गर्न नसकेको आरोप पनि अध्यक्ष खनाललाई लागेको छ ।
आफ्नो दुई वर्षको कार्यकालमा साधारणसभा समेत नगरेका अध्यक्ष खनालले संस्थाको विधान अनुसार आफ्नो कार्यकाल यही जुलाई महिनामा सकिन लाग्दा पनि अधिवेशन गर्न अग्रसर नभई विधान र प्रक्रिया मिचेर कार्यकाल लम्याउन खोज्ने अध्यक्ष खनालको कार्यशैलीको विरोध भइरहेको छ । दुई वर्षको अवधिमा एनआरएनए माल्टाले गरेका सामाजिक कामको कुनै तुक नभएको र बालुवामा पानी हाले जस्तै भएकोमा आफूलाई दुख लाग्ने गरेको एनआरएनए माल्टाका कार्यसमितिका पदाधिकारीले माल्टा नेपाल अनलाइलाई बताए ।
समयमा साधारणसभा र महाधिवेशन गर्न नसकी एनआरएनए माल्टाले ठूलो कमजोरी गरेको सामाजिक संजालमा प्रश्न उठी रहेका छन् । एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङले माल्टामा रहेका नेपालीहरुले एनआरएनएप्रर्ती प्रश्न गर्न पाउने अधिकार रहेको बताउँदै उनीहरुले उठाएका प्रश्नको जवाफ नैतिक रुपमा अहिलेको कार्यसमितिले दिनुपर्छ । म दिन तयार छु । त्यसैगरी जिम्मेवारीमा रहेका सबै साथीहरुले एनआरएनए माल्टाको अहिलेको कार्यसमितिप्रर्ती लक्षित कुनैपनि प्रश्नको जवाफ दिनुपर्ने भन्दै कसैले पनि गैर जिम्मेवार बन्न नमिल्ने बताए ।
अहिलेको कार्यसममितिले साधारणसभा पनि गर्न सकेन । अन्त्यमा आएर महाधिवेशन पनि गर्न नसकेर असफल र असक्षम कार्यसमितिको बिल्ला भिर्नु पर्दा निकै दुख लागेको गुरुङले भावुक हुँदै बताए । उनले भने, सहमती र सहकार्य गरेर जानको लागि मैले धेरै प्रयास पनि गरें तर मेरो प्रयास अथहीन भयो ।
एनआरएनए माल्टाको कार्यसमिति विघटनपछि नयाँ राष्ट्रिय अधिवेशनको तयारी तथा आवश्यक व्यवस्थापनका लागि निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको संयोजकमा आईसीसी सदस्य, युरोप क्षेत्रीय समिति सचिव तथा एनआरएनए माल्टाका पूर्व अध्यक्ष भुवन अर्याललाई तोकिएको छ । निर्वाचन समितिको सदस्य–सचिवमा नेपाली समाज माल्टाका पूर्वअध्यक्ष तथा एनआरएनए माल्टाका सल्लाहकार दिनेश कार्की रहेका छन् । अन्य सदस्यहरूमा आईसीसी सदस्य नवीन गिरी, गोविन्द खरेल, पत्रकार प्रकाश बगाले, समाजसेवी मिलन पोखरेल र कमल पोखरेल रहेका छन् ।