धनराज विक (अविरल) डिसेम्बर १९ (युरोप)
माल्टामा सम्पन्न भएकोे घुम्ती कन्सुलर सेवाबाट ६ सय ८० जनाले सेवा लिएका छन् । डिसेम्बर १४ तारिखबाट सुरु भएर डिसेम्बर १८ मा सम्पन्न भएको घुम्ती कन्सुलर सेवाबाट राहदानी नवीकरण लगायत अन्य कन्सुलर सेवा लिएको गैर अवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले जानकारी दिएका छन् । घुम्ती कन्सुलर सेवा लिनको लागि ७ सय ११ जनाले अनलाइन फाराम भरेपनि ६ सय ८० जनालले मात्र सेवा लिएका छन् ।
एनआरएनए माल्टाको सहकार्यमा राहदानी विभाग नेपाल र स्पेनमा रहेको नेपाली राजदूतावास म्यार्डिको समन्वयमा माल्टामा घुम्ती कन्सुलर सेवा मार्फत माल्टामा रहेका आप्रवासी नेपालीले राहदानी नवीकरण लगायतका अन्य (कन्सुलर) कागजपत्र प्रमार्णीकरणको सेवा लिएका हुन् । राहदानी विभाग नेपालबाट बिदुर खतिवडा, नेपाली राजदूतावास म्यार्डिडका कार्यबाहक राजदूत यज्ञराज पौड्याल, बिपिन चन्द र अनुप शिल्पकारले सेवा प्रदान गरेको अध्यक्ष खनालले बताए ।
माल्टामा नेपाली राजदूतावास नभएको र स्पेनमा रहेको नेपाली राजदूतावासले नै माल्टालाई हेर्ने भएकोले एनआरएनए माल्टाले निरन्तर रुपमा माल्टामा घुम्ती कन्सुलर सेवा संचालन गर्नका लागि गरेको पहलले सजिलै सेवा पाउँदा सेवाग्राही नेपालीहरुले खुसीहुँदै एनआरएनए माल्टालाई धन्यवाद् दिएको एनआरएनए माल्टाका सचिव भुवन झा बताउँछन् ।
नेपाल पोखारा घर भएकी र हाल माल्टामा ६ वर्षदेखि बस्दै आएकी पशुपती गुरुङले माल्टामा सेवा पाउँदा खुसुी लागेको बताइन् । सानो छोरीलाई काखमा राखेर पासपोर्ट नवीकरण, बच्चाको जन्म प्रमाणित र नेपालमा रहेको छोरालाई माल्टा ल्याउनको लागि आवश्यक कागजपत्र प्रमाणितको सेवा लिएकी गुरुङले एनआरएनए माल्टालाई धन्यवाद् दिएकी छन् । गुल्मी घर भएका शंकर भण्डारीले पनि राहदानी नवीकरणको सेवालीन पाउँदा खुसी लागेको बताउँदै एनआरएनए माल्टाले गरेको कामको प्रशंसा गरेका छन् ।
नेपाली राजदूतावास म्याड्रिडका कार्यवाहक राजदूत यज्ञराज पौड्यालले सेवा प्रवाह राम्रोसंग भएको बताए । नेपाल सरकारले प्रमाणित गर्नुपर्ने कागजपत्र र राहदानी नवीकरणको सेवा दिएको उनले बताए । घुम्ती कन्सुलर सेवा सफलता पूर्वक सम्पन्न गर्न माल्टा सरकार, प्रहरी प्रशासनले शान्ति सुरक्षाको प्रबन्ध मिलाएको भन्दै एनआरएनए माल्टाले धन्यवाद् दिएको छ । माल्टाका मानार्थ बाणिज्यदूत डाक्टर जनाथन अबेलाले घुम्ती कन्सुलर सेवाको अनुगमन गरी एनआरएनए माल्टाले नेपालीहरुको हीतमा राम्रो काम गर्दै आएको बताएका थिए । घुम्ती कन्सुलर सेवा शिविरका संयोजक दामोदर लामिछाने र उपसंयोजक दिपेश गुरुङले सफलतापूर्वक कन्सुलर सेवा सम्पन्न भएको बताएका छन् ।
घुम्ती कन्सुलर सेवा सफल पार्न सहयोग गर्ने जनसम्पर्क समिति माल्टा, प्रवासी नेपाली मञ्च माल्टा, जनप्रगतीशील माल्टा, तमु समाज माल्टा, तामाङ समाज माल्टा, नेपाली समाज माल्टा, झापाली समाज माल्टा र एनएमएफसी क्लवलाई एनआरएनए माल्टाले धन्यवाद व्यक्त गरेको एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष मधु गुरुङले बताए ।घुम्ती कन्सुलर सेवालीन आउने सेवाग्राहीको सजताको लागि जनसम्पर्क समिति माल्टाले फोटोकपी र प्रिन्ट मेसिनको व्यवस्था गरी निशूल्क रुपमा सेवा दिएको जनसम्पर्क समिति माल्टाका सभापती हरी बिसीले बताए ।
एनआरएनए माल्टाले थालेको घुम्ती कन्सुलर सेवा सफलतापूर्वक सम्पन्न गर्न स्वयम् म आफै र समितिका साथीहरुले निरन्तर सेवा अवधीभर सेवा प्रदान गरेको बिसी बताउँछन् । एनआरएनए माल्टाका उपाध्यक्ष सत्य नारायण झाले एनआरएनए माल्टाका भूतपूर्व एवम् निवर्तमान अध्यक्ष सहित अन्य पदाधिकारीहरु, वर्तमान सल्लाहकार, सम्पूर्ण कार्यसमिति र कन्सुलर सेवा सफल पार्न महत्वपूर्ण सहयोग गर्ने विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुलाई धन्यवाद् दिएका छन् ।