धनराज विक (अविरल) युरोप
गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडको अध्यक्षमा कृष्ण बहादुर बिक पुनः सर्वसम्मत निर्वाचित भएका छन् । ओलानीमा सम्पन्न भएको गोदावरी कृषि विकास सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभाबाट अध्यक्ष बिक दोस्रो कार्यकालको लागि पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । सहकारीको नेतृत्वमा आएपछि अध्यक्ष बिकले निकै राम्रो काम गरेर सहकारीलाई अगाडी बढाउन सबै शेयर सदस्यहरुलाई साथमा लिएर काम गरेका थिए । सहकारीको प्रवद्धनका लागि असल र उत्कृष्ट विचारका साथ शेयर सदस्यहरुको जीवन स्तरमा परिवर्तन ल्याउने गरी कामगर्दै आएका बिकलाई सम्पूर्ण शेयर सदस्यहरुले पुनः सहकारीको नेतृत्व गर्नुपर्छ भन्दै सर्वसम्मत अध्यक्षको जिम्मेवारी प्रदान गरेका थिए ।
समाजसेवाका काममा अग्रसर भएर सामाजिक रुपमा स्थापित हुँदै गएका अध्यक्ष बिक सबैको लोकप्रिय बनेका छन् । सरल व्यवहार र स्वच्छ छवीका साथ समाजमा इमानदार र नैतिक व्यक्तिको रुपमा चिनिएका उनले सहकारीको नेतृत्वमा आएपछि उदाहरणीय काम गरेर शेयर सदस्यहरुको मन जितेका थिए । अध्यक्षको जिम्मेवारी सम्हाले पछि पहिलो प्राथमिकतामा सहकारीलाई राखेर शेयर सदस्यहरुको दैनिक जीवनमा परिवर्तन ल्याउने गरी अध्यक्ष बिकले निरन्तर काम गर्दै आएको समाजसेवी एवम् गोदावरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कृष्ण पुनेबाटीले बताए ।
स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्दै आएका बिकले सहकारीको विकासका लागि विभिन्न कार्यक्रम ल्याउन सफल नेतृत्व गरेका थिए । विशेष गरी शेयर सदस्यहरुको दैनिक जीवनमा परिवर्तन देखिने गरी कृर्षि कार्यक्रमलाई जोड दिएर सबैलाई समेट्दै काम गरेकोमा हामी सबै शेयर सदस्यहरु खुसी थियौ । त्यसैले उहाँले सहकारीको एक कार्यकाल फेरी नेतृत्व गर्नुपर्छ भनेर हामी सबैले अगाडि सारेको शेयर सदस्य कलावती बिकले बताइन् । सुदूरपश्चिम सरकार भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत भेटरेनरी तथा पशुसेवा विज्ञ केन्द्रको १० लाख र सहकारीको १० लाख अनुदानमा सहकारीका शेर सदस्य कृषकलाई स्वरोजगारबाट आयआर्जन गरी आत्मनिर्भर बन्नको लागि मुर्रा जातको १४ वटा भैंसी र १ राँगो वितर गरेपछि शेयर सदस्य धेरै खुसी भएका थिए ।
जमिन बाँझो नराख्ने गरी सहकारीका सदस्यलाई कृषितर्फ आकर्षण हुने कार्यक्रम समेत संचालन गरेका थिए बिकले । सहकारीका सदस्यको आर्थिक अवस्थामा सुधार ल्याउनकै लागि २० वटा उन्नत जातको बाख्रा पनि सहकारी मार्फत वितरण गरेका थिए । साथै प्लाष्टिक टर्नेल तथा थोपा सिचाई कार्यक्रम संचालन गरी मौसमी तथा बेमौसी तरकारी खेती गर्नमा सहकारीका शेयर सदस्यलाई अध्यक्ष बिकले आकर्षित गरेको शेयर सदस्य दिपक बिकले बताए ।
आफूलाई अध्यक्षमा पूनः सर्वसम्मत निर्वाचित गर्ने सम्पूर्ण शेयर सदस्यहरुलाई कृष्ण बिकले धन्यवाद् दिएका छन् । सकारात्मक सोचले मात्र सहकारीको विकास सम्भव हुने भन्दै सबैले सहकारीको हीतको बारेमा सोच्नुपर्ने बताए । १५ रुपैयाँ बाट सुरु भएको सहकारी अहिले लाखौंको कारोबार गरी रहेको भन्दै विगतका दिनमा साहुबाट चर्को ब्याजमा ऋण लिने बाध्यताको सहकारीको स्थापना पछि अन्त्य भएको बिकले बताए । उनले भने “ जमिन बाँझो नराख्ने गरी मौसमी र बमौसमी खेती संगै व्यवसायलाई अगाडि बढाउने गरी सहकारीको विकासमा सबै लाग्नु पर्ने उनी बताउँछन् ।
२०६७ सालमा ७ सय ४१ जना दलित समुदायबाट १५ रुपैयाबाट बचत सुरु गरिएको सहकारीले अहिले राम्रो प्रगती गरेका देख्दा खुसी लागेको छ । दलित विकास सेवा केन्द्र नामको संस्था स्थापना गरी सामाजिक कामको सुरुवात गरेपनि २०६९ सालमा गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेड दर्ता गरी निरन्तर सहकारीले समाजमा राम्रो काम गर्दै आएको दिनेश नागरीले बताएका छन् । उनले भने,“ कष्ण सरले सहकारीको नेतृत्व गरेपछि समाजमा देखिने गरी सहकारीले निकै राम्रो प्रगती गरेको छ ।” राम्रो काम गरेर समाजमा सबैको मनजित्दै गएका कृष्ण सरले सहकारीलाई नमुना बनाउने गरी काम गर्दै आएको नागरी बताउँछन् ।
लामो समय गैरसरकारी संस्थामा काम गरेर अनुभव बटुलेका अध्यक्ष बिक हाल सरस्वती माध्यामिक विद्यालय ओलानीमा शिक्षकको रुपमा कार्यरत छन् । आफू पढाउने विद्यालयमा पनि बिक लोकप्रिय शिक्षकको रुपमा स्थापित हुँदै गएका छन् । विद्यार्थी र अभिभावकले निकै रुचाएका शिक्षक बिक सामाजिक न्याय र परिवर्तनका पक्षमा निरन्तर उभिदै आएका छन् ।