धनराज विक (अविरल)
माल्टा / आर्थिक समस्याका कारण माल्टामा नेपालका जित बहादुर चौधरीको उपचारमा समस्या भएको छ । ६ महिना देखि (प्यारालाइसिस) रोगको बिरामी भएर माल्टाको मार्टर देइ अस्पतालमा भर्ना भएका चौधरीको उपचारमा समस्या भएको हो । उपचारमा सहयोग गरी दिन माल्टामा रहेका नेपाली र देश विदेशमा रहेका सबै नेपाली सँग चौधरीले अनुरोध गरेका छन् । ५ वर्षदेखि माल्टामा सेफ (नेपाली भान्से) को रुपमा चौधरी काम गर्दै आएका थिए ।
अगस्ट ५ तारिखका दिन बिरामी भएका चौधरीको आधा शरीरले काम नगर्ने भएपछि उपचारका लागि अस्पताल गएका थिए । माल्टाको मार्टर देई अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा डाक्टरले प्यारालाइसिस भएको भनेर बताएको जित बहादुर चौधरीले बताए । बिरामी भएर थला परेपछि नेपाल घरजाने सोच गरेको थिए । मैले घर जान्छु भन्दा डाक्टरहरुले तँपाइको स्वास्थ्य अवस्थामा जटिल समस्या भएकोले बाटोमा समस्या हुन्छ भनेर सल्लाह दिएकोले माल्टामै अहिले उपचार भइ रहेको छ मेरो ।
चौधरीले भने, “पाँच महिनासम्म अस्पतालमा राखेर उपचार भयो । करिब एक महिना भयो अहिले डाक्टरकै निगरानीमा रहने गरी कोठामाा बसेको छु । महिनाको दुइ पटक अस्पतालमा स्वास्थ्य जाँच गर्न जानुपर्छ भने दैनिक कोठामा थेरापी गर्नु पर्छ ।” निरन्तर आठ किसिमको औषधि सेवन गरी रहेको छु । दुइ किसिमको औषधि अस्पतालबाट निशुल्क पाइन्छ भने बाँकी ६ किसिमको औषधि आफैले किन्नु पर्दा समस्या भएको उनले बताए ।
औषधि उपचार सँगै खान बस्न र कोठा भाडा तिर्न धेरै समस्या भएको छ । मासिक ६ सय भन्दा बढि खर्च आउने गरेको भन्दै मेरो घरको आर्थिक अवस्था कमजोर भएकोले घरबाट पनि पैसा पठाउन नसक्ने भएकोले सहयोग गरी दिन सबैसँग उनले अनरोध गरेका छन् । चौधरीको करिब ८० वर्षिय बृध आमा र ११ वर्षकी १ छोरी मात्र छन् । बुवाको पहिल्यै निधन भइ सकेको र श्रीमतीले पनि साथ छोडेको उनले दुखेसो पोखेका छन् ।
अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका सदस्य समेत रहेका जित बहादुर चौधरीको स्वास्थ्य लाभको कामना गर्दै उपचारका लागि सहयोग रकम उठाउने सोमबार बसेको संस्थाको बैठकले निर्णय गरेको अध्यक्ष बासुदेव भुसालले बताए । सहयोग रकम संकलन अभियानका लागि अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका सह–सचिव श्याम भण्डारीलाई बैठकले जिम्मेवारी दिएको सचिव सुन्दर घिमिरेले बताएका छन् ।
माल्टामा सेफ (नेपाली) भान्सेको रुपमा काम गर्दै आएका जित चौधरी सर बिरामी भएको खबरले निकै दुःख लागेको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका उपाध्यक्ष बाबु अर्यालले बताए । उनले भने, “उहाँको उपचारमा आर्थिक समस्या भएकोले देश विदेशमा रहेका सम्पूर्ण सेफ र सबै नेपालीहरुलाई परोपकारी काममा सकेको सहयोग गरिदिन मेरो अनुरोध छ ।” हाम्रो सानो सहयोगले समस्या समाधानमा मद्दत पुग्छ र परिवारलाई सहज हुन्छ भने समस्या परेको बेला मानवीय सहयोग गर्नुपर्ने अर्यालले बताए ।
नमस्ते नेपाल मिनीमार्केट माल्टाका संचालक एवम् एनआरएनए माल्टाका भूतपुर्व अध्यक्ष समेत भइ सकेका समाजसेवी अर्यालले आफैबाट सहयोग रकम उठाउन सुरु गरेर सामाजिक संजाल फेसबुक मार्फत सबैलाइ सहयोगका लागि अनुरोध समेत गरेका छन् । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टा परिवारले सहयोग रकम उठाउँदै सक्रिय रुपमा सहयोग रकम उठाउन पहल गर्दै आएको सहयोग रकम संकलन अभियानका संयोजक एवम् अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका सह–सचिव श्याम भण्डारीले जानकारी दिएका छन् ।