माल्टा नेपाल अनलाइन डेस्क / नेपाली फिल्म उद्योगका चर्चित अभिनेता अनमोल केसी अभिनीत नयाँ चलचित्र ‘जेरी अन टप’ माल्टामा अभूतपूर्व सफलताका साथ प्रदर्शन भइरहेकाे छ।
माल्टामा प्रदर्शनमा आएको सबै शो हाउसफुल भएपछि नोभेम्बर ८ तारिख राति १०:४५ मा राखिएकाे तेस्रो शो समेत प्रदर्शन गर्न लागिएको आयोजक नेप–फाइभ इन्टरटेन्मेन्टका सञ्चालक सुवास ढकालले माल्टा नेपाल अनलाइनलाई जानकारी दिएका हुन् । गत समयमा टिकट नपाएर पनि दर्शकहरू हलमा पुगेका र केही सिँढीमा बसेर वा उभिएर समेत फिल्म हेर्न तत्पर देखिएका दृश्यहरूले प्रवासमा नेपाली चलचित्रप्रतिको गहिरो मोह रहेको नेप–फाइभ इन्टरटेन्मेन्टका सञ्चालक सुवास ढकालकाे भनाइ छ । उनी भन्छन् “हामीले यति ठूलो भीडको अपेक्षा गरेका थिएनौँ। यसले नेपाली सिनेमा प्रवासमा कत्ति प्रिय छ भन्ने प्रमाणित गरिदियो।”
माल्टामा १० हजार भन्दा माथीको हाराहारी नेपाली रहेकाे अनुमान छ। व्यस्त कामकाजी जीवनबीच आफ्नै भाषा, संस्कृति र मानवीय भावनालाई ठूला पर्दामा हेर्न पाउनु हाम्रो लागि विशेष अवसर बनेको छ। एक दर्शकले भने, “फिल्म हेर्दा देश र आफ्ना मान्छेहरूको सम्झना आयो। रमाइलो र भावनात्मक अनुभव दुवै भए।”
अनमोल केसीसँगै जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी र माग्ने बुढाकाे दमदार अभिनयले दर्शकलाई खिचेकाे छ। रोमान्टिक कथावाचन, आकर्षक दृश्यहरू तथा माग्ने बुढाको हास्यले हलभर हाँसो गुन्जिएको बताइन्छ। युरोपमा बढ्दो नेपाली जनसङ्ख्याका कारण नेपाली चलचित्रका दर्शक, लगानी र बजार विस्तार हुँदै गएको विश्लेषण छ। “विदेशमा सफल प्रदर्शनले नेपाली फिल्मको व्यापारिक सम्भावना थप बलियो बनाउँछ,” सिनेमा विश्लेषकहरू बताउँछन्।
माल्टाकाे सेन्ट जुलियनस्थित इडन सिनेमामा फिल्म प्रदर्शन हुन्दैछ। आयोजकहरूले आगामी दिनमा अन्य नेपाली चलचित्र, कलाकार भेटघाट र सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गर्ने योजना जनाएको छ। फिल्म हेर्न इच्छुक दर्शकले टिकट www.ticketly.eu/m/jot-mt मार्फत बुक गर्न सक्ने आयोजकले विभिन्न माध्यमबाट समेत जानकारी गराएका छन् ।



