सडक दुर्घटनामा निधन भएकी गौरीको शव बिहिबार नेपाल पठाइने

Share:

माल्टा / सडक दुर्घटनामा परी निधन भएकी नेपालकी गौरी कुमारी बरालको शव बिहिबार नेपाल पठाइने भएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका ३ घर भएकी २४ वर्षिय बरालको शव नेपाल पठाउन लागिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले बताए ।

जनवरी १६ तारिख दिन बिहान १० बजेदेख १० ः ४५ बजेसम्म माल्टाको मार्टर देइ अस्पतालको शव गृहमा गौरीप्रर्ती अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । खनालले भने, “श्रद्धाञ्जली अर्पण गरिसके पछि सोहीदिन माल्टाबाट शव नेपाल पठाइने छ । गौरीको शव शनिबार मात्र नेपाल पुग्ने छ ।” अन्तिम श्रद्धाञ्जली दिनका लागि माल्टामा रहेका नेपालीहरुलाई सार्वजनिक सूचना मार्फत जानकारी गराएको खनालले बताए ।

जनवरी ५ तारिखका दिन माल्टाको फगुरा भन्ने ठाउँमा सडक दुर्घटनामा परी घाइते भएकी गौरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारकै क्रममा माल्टाको मार्टर देइ अस्पतालमा उनको निधन भएको हो । रोजगारीको सिलसिलामा सन् २०२२ मा उनी माल्टा आएकी थिइन् ।

बरालको आर्थिक अवस्था धेरै कमजोर भएकोले नेपाल शव पठाउनका लागि एनआरएनए माल्टा मार्फत गोफोन संचालन गरी रकम संकलन गर्ने काम भइ रहेको छ । माल्टामा रहेका विभिन्न सामाजिक संस्था र व्यक्तिहरुले शव नेपाल पठाउन सहयोग गरी रहेका छन् । जम्मा भएकै सहयोग रकम बाट शव नेपाल पठाउने र गौरीको परिवारलाई आर्थिक सहयोग समेत गर्ने एनआरएनए माल्टाका अध्यक्ष खनालले बताएका छन् । गौरीसँगै सडक दुर्घटनामा घाइते भएकी पोखराकी ३२ वर्षिय उर्मिला कार्कीको माल्टामै उपचार भइ रहेको छ ।

 

 

Share:

सम्बन्धित समाचारहरू