धनराज विक (अविरल)
माल्टा / अन्तिम श्रद्धाञ्जली दिएर माल्टाबाट गौरी कुमारी बरालको शव नेपाल पठाइएको छ । सडक दुर्घटनामा परी निधन भएकी बर्दिबास नगरपालिका ३ महोत्तरीकी २४ वर्षिय बरालको शव आज नेपाल पठाइएको हो । माल्टाको मार्टर देइ अस्पतालको शव गृहमा नेपालको राष्ट्रिय झण्डा, खादा र पुष्पगुच्छाले गौरीप्रर्ती अन्तिम श्रद्धाञ्जली अर्पण गरेर शव आज नेपाल पठाइएका गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले बताए ।
अन्तिम श्रद्धाञ्जली दिन शव गृहमा पुगेका प्रवासी नेपालीहरुले रुदै भावपूर्ण श्रद्धाञ्जली दिएका थिए । सुन्दर सपना देखेर बाध्यताले विदेशिएका नेपालीहरुले बाकसमा आफ्नो देश फर्किदाका पीडाले मन बिक्षिप्त हुने गरेको श्रद्धाञ्जली दिन पुगेका नेपालीहरुले भावुक हुँदै बताएका छन् । नेपाली मात्र नभएर गौरी कामगर्ने कम्पनीका विदेशी नागरिक र उनका विदेशी साथीहरु पनि शव गृहमा श्रद्धाञ्जली दिन आएका थिए । शीर झुकाएर शवमाथी पुष्पगुच्छा चडाउँदै उनीहरुले श्रद्धा व्यक्त गरेका छन् । कसैले कामबाट बिदा लिएर त कसैले कामगरी रहेकै अवस्थाबाट समय निकालेर श्रद्धाञ्जली दिन आएका थिए । नेपालीहरुको आँखाबाट आँसु खसी रहेको दृश्यले शव गृहमा जसको मनपनि पिरोलिन्थ्यो ।
गौरीका अंकल डम्बर बहादुर थापा छोरीको अनुहार हेर्दै शवलाई सुमसुम्याउँदै रोही रहेका थिए । शव गृहमा श्रद्धाञ्जली दिन राखिएको समय अवधीभर छोरीको साथमा रहेका थापाले रुदै शवको व्यवस्थापन गरी शव नेपाल पठाउनमा सहयोग गर्ने सबै नेपालीलाई धन्यवाद् दिएका छन् । गौरीका दाजु प्रेम कुमार थापा पनि बहिनीको शव हेर्दै आँसु खसाल्दै रोही रहेका थिए ।
शव गृहमा भएको श्रद्धाञ्जली सभामा गौरीको सम्मान र चीर शान्तिको लागि एक मिनेट मौनधारण गरिएको थियो । एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले शोक मन्तव्य दिएका थिए । रोजगारीको सिलसिलामा मलेसियामा रहेका बुवालाई घर फर्काउनको लागि गौरी दुइवर्ष अघि माल्टा आएकी थिइन् । बुवालाई घर फर्काउने गौरीको सपना पूरा भएन् । उनी आफै यो संसारबाट सधैंका लागि बिदा भएर गइन् ।
जनवरी ५ तारिखका दिन माल्टाको फगुरा भन्ने ठाउँमा सडक दुर्घटनामा परी घाइते भएकी गौरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारकै क्रममा माल्टाको मार्टर देइ अस्पतालमा जनवरी ११ तारिखका दिन उनको निधन भएको थियो । रोजगारीको सिलसिलामा सन् २०२२ मा गौरी माल्टा आएकी थिइन् ।
एनआरएनए माल्टाका सल्लाहकार एवम् भूतपुर्व अध्यक्ष बावु अर्यालले शवको उचित व्यवस्थापनमा एनआरएनए माल्टा लगायत माल्टामा रहेका विभिन्न सामाजिक संस्था र सहयोगी व्यक्तिहरुले खेलेको भूमिका र गरेको महत्पूर्ण सहयोगले शव छिटो नेपाल पठाउन सकिएको भन्दै सबैलाई धन्यवाद् दिएका छन् । माल्टामा नेपालीहरुको एकता र सामाजिक सद्भावको सकारात्क प्रभाव परेको अर्यालले बताए ।
उनले भने, “ एनआरएनए माल्टाको अगुवाइमा एउटा एप्स निमार्ण गरी आपतकालीन राहत कोष स्थापना गर्न वार्षिक रुपमा एक नेपाली एक युरो उठाउने अभियान संचालन गर्दा सजिलै हजारौं रकम राहत कोषमा जम्मा गर्न सकिन्छ ।” वर्षमा प्रतिव्यक्ति एक युरो सबैले दिनु हुन्छ । माल्टामा ८ हजार भन्दा बढी नेपाली भएकोले एक वर्षमा सजिलै ८ हजार भन्दा बढी युरो जम्मा गर्न सकिन्छ । जुन रकम आपतकालीन अवस्थामा प्रयोगमा ल्याउन सकिने उनले बताए ।
त्यसैगरी एनआरएनए माल्टाका सल्लाहकार हरी बिसीले देशले सक्षम नागरिक गुमायो । परिवारले आफ्नो सदस्य गुमाए र हामीहरुले मिल्ने साथी र प्रिय बहिनी गुमाएकोमा निकै दुःख लागेको छ । प्रवासमा नेपालीहरुले हरेक कुरामा सावधानी अपनाएर मात्र काम गर्नुपर्ने बिसीले बताए । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका अध्यक्ष बासुदेव भुसालले गौरी बहिनीको दुःखद निधनले माल्टामा रहेका सबै नेपालीलाई मर्माहत बनाएको भावुक हुँदै बताए । काम छोडेर गौरीलाई अन्तिम श्रदाञ्जली दिन आएका भुसालले सुन्दर भविस्य खोज्नका लागि विदेश आएकी गौरी बहिनीले कलिलै उमेरमा ज्यान गुमाउँदा धेरै दुःख लागेको छ ।
बाध्यताले विदेश पलायन भएका कलिला मुनाहरुले यसरी बाकसमा प्याक भएर देश फर्किदाको पीडाले मनमा गाँठो परेर आएको भन्दै आफ्नो संस्थाबाट संकलन गरिएको सहयोग रकम गौरीको परिवारलाई प्रदान गरिने भुसालले बताए । शव नेपाल पठाउनका लागि आवश्यक पर्ने रकम संकलनका लागि एनआरएनए माल्टाले गोफोन संचालन गरेको थियो भने माल्टामा रहेका विभिन्न सामाजिक संस्था र व्यक्तिहरुको सहयोगमा शव नेपाल पठाइएको हो । गौरीको शव नेपाल पठाउन लाग्ने खर्च बाहेक जम्मा भएको सबै रकम उनको परिवारलाई पठाइने भएको छ ।