माल्ट / दशैंका दिन माल्टामा नेपालका चर्चित कलाकारको लाइभ कन्सर्ट निःशुल्क हेर्न पाइने भएको छ । अक्टोबर २ तारीखका दिन माल्टाको जिरामा रहेको ओप्रियम थिर्यटरमा हुने लाइभ कन्सर्ट निःशुल्क हेर्न पाइने भएको हो ।
विशेष गरी रक गीतसंगीतको प्रवद्धन गर्दै आएको मंकी टेम्पल ब्यान्डको कलाकारको टिम लाइभ कन्र्सटका लागि मंगलबार माल्टा आउन लागेको नेपाली समाज माल्टाका अध्यक्ष ज्ञानबहादुर लामाले बताए । दशैंको दिन बिहान ११ बजेदेखि जेष्ठ नागरिकको हातबाट टिका जमरा लगाएर दशैं मनाउने र अपरान्ह ४ बजेर ३० बजेदेखि लाइभ कन्सर्ट सुरुहुने लामाले बताए ।
बडा दशैंको रंग नेपाली समाज माल्टा संग भन्ने मूल नाराका साथ नेपाली समाज माल्टाको आयोजनामा दशैंको अवसर पारेर हुन लागेको लाइभ कन्सर्ट निशुल्क रुपमा हेर्न मिल्ने नेपाली समाज माल्टाका सचिव किरण बुढाथाकीले बताए । उनले भने, “अहिलेसम्म माल्टामा नेपालका कलाकारको उपिस्थतिमा सम्पन्न भएका कुनैपनि कार्यक्रम निःशुल्क रुपमा संचालन भएका छैनन् । दशैंको अवसरमा रोजगारीको सिलसिलामा माल्टामा रहेका नेपालीले भरपुर सांगीतिक मनोरन्जन लिनका लागि नेपाली समाज माल्टाले निःशुल्क लाइभ कन्सर्टको आयोजना गरेको हो ।”
मंकी टेम्पल ब्यान्डका प्रमुख सुरेन देउजाको नेतृत्वमा हुन लागेको लाइभ कन्सर्टमा कन्सर्टमा समय बितेको, हाम्रो नेपाल, संगै बाँचौला, गहिरो, अनुमती, समय अजम्बरी लगायत बोलको गीत कलाकारले गाउने भएका छन् ।