गौरी काम गर्ने कम्पनीका साथीहरुले राहत स्वरुप पठाए ८ लाख २४ हजार ७ सय १७ रुपैया

Share:

माल्टा नेपाल अनलाइन

माल्टा / माल्टामा सडक दुर्घटनामा परी निधन भएकी गौरी कुमारी बरालको परिवारलाई राहत स्वरुप ८ लाख २४ हजार ७ सय १७ रुपैया पठाइएको छ । गौरी काम गर्ने द फुड फ्याक्टरीमा कार्यरत उनका कर्मचारी साथीहरुले गौरीको शव व्यवस्थापन र परिवारलाई राहत स्वरुप पैसा संकलन गरी माल्टाबाट नेपाल पठाएको बिष्नु प्रसाद गौतमले जानकारी दिएका छन् । जनवरी ५ तारिखका दिन माल्टाको फगुरा भन्ने ठाउँमा सडक दुर्घटनामा परी घाइते भएकी बर्दिबास नगरपालिका ३ महोत्तरीकी २४ वर्षिय गौरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारकै क्रममा माल्टाको मार्टर देइ अस्पतालमा जनवरी ११ तारिखका दिन उनको निधन भएको थियो ।

जनवरी १६ तारिखका दिन गौरीप्रर्ती अन्तिम श्रद्धाञ्जली अर्पण गरेर माल्टाबाट शव नेपाल पठाइएका थियो । जनवरी १८ तारिख शनिबार शव नेपाल पुगेकै दिन पशुपती आर्यघाटमा बरालको अन्तिम दाहसंस्कार गरिएको माल्टामा रहेका गौरीका अंकल डम्बर बहादुर थापाले जानकारी दिएका छन् । शव व्यवस्थापन सँगै राहत स्वरुप आर्थिक सहयोग गर्ने सबैलाई थापाले धन्यवाद् दिएका छन् ।

गौरीको शव माल्टाबाट नेपाल पठाउँदाको दिन मार्टर देइ अस्पतालको शव गृहमा गौरी काम गर्ने कम्पनीका साथीहरु पुष्पगुच्छा सहित अन्तिम श्रद्धाञ्जली दिन आएका थिए । गौरीको शवलाई अन्तिम पटक बिदाई गर्दै आँखाबाट आँशु झार्दै उनीहरु रोही रहेका थिए । शोककै बेला शव गृहमा माल्टा नेपाल अनलाइनका सम्पादक एवम् पत्रकार धनराज अविरललसँग कुरागर्दै अति मिलनसार र सहयोगी साथी गुमाएकोमा धेरै दुःख लागेको भन्दै शवको व्यवस्थापन र परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गर्न पैसा संकलन गर्ने काम भइरहेको उनीहरुले बताएका थिए ।

सुन्दर सपना देखेर विदेशिएकी गौरीको सपना उनको निधन सँगै सधैंका लागि अन्त्य भएको छ । रोजगारीको सिलसिलामा मलेसियामा रहेका बुवालाई घर फर्काउनको लागि गौरी सन् २०२२ मा माल्टा आएको गौरीसँगै कामगर्ने बिष्नु प्रसाद गौतमले बताए । गौरीको शव व्यवस्थापन र उनको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गर्न बिष्नु प्रसाद गौतम, नेत्रराज भट्टराई, राज खरेल, दिपक गौतम र बिष्नुले महत्पूर्ण भूमिका खेलेका थिए । उनीहरुले खेलेको भूमिकामा कम्पनीका सबै साथीहरुले साथ दिदै पैसा दिएका थिए ।

राहत स्वरुप आर्थिक सहयोग संकलन गर्न सक्रिय भूमिका खेलेका गौतमले गौरी बहिनीको आमा तुल्सा बरालको खातामा आइतबार माल्टाबाट ८ लाख २४ हजार ७ सय १७ रुपैया पठाइएको बताए । कम्पनीका कर्मचारीबाट ५ हजार ५ सय ६६ युरो र गौरी बस्ने कोठाका साथी र अन्यबाट गरी ३ सय २५ युरो जम्मा ५ हजार ८ सय ९१ युरो संककलन भएको गौतमले बताए । त्यसैगरी अन्तराष्टिय सेफ सोसाइटी माल्टाले पनि गौरी बरालको परिवारलाई सामान्य सहयोग होस भनेर राहत स्वरुप ६५ हजार नेपाली पठाएको अन्तराष्टिय सेफ सोसाइटी माल्टाका उपाध्यक्ष एवम् एनआरएनए माल्टाका सल्लाहकार राजु अर्याल (बाबु) ले बताए । साथै सुदूरपश्चिम सेवा समाज माल्टाले पनि गौरीको परिवारलाई आर्थिक सहयोग गरेको छ । गौरीको शव नेपाल पठाएकै दिन जनवरी १६ मा ४० हजार गौरीको परिवारलाई राहत रकम पठाएको सुदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नागरीले बताएका छन् ।

राहत स्वरुप पठाएको आर्थिक सहयोग पाएपछि गौरीको परिवारले कम्पनीका कर्मचारी साथी तथा माल्टामा रहेका सबै सामाजिक संघसंस्था र नेपालीलाई धन्यवाद् दिएका छन् । गौरीका भाइ बिमल कुमार बरालले बिष्नु प्रसाद गौतमलाई भ्वाइस म्यासेज पठाएर सहयोग गर्ने सबैलाई परिवारको तर्फबाट धन्यवाद् दिएको गौतमले बताए ।

Share:

सम्बन्धित समाचारहरू