संघर्षका अनुभव सुनाउँदै नेपाली महिलाहरुले माल्टामा मनाए ११५ औं महिला दिवस

Share:

माल्टा नेपाल अनलाइन / रोजगारीको सिलसिलामा युरोपको माल्टामा आएका नेपाली महिलाहरुले संर्घषका अनुभव सुनाउँर्दै ११५ औं अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टा अन्तर्गतको महिला फोरमको आयोजनामा मार्च ९ तारिख फागुन २५ गते शनिबारका दिन माल्टामा आफ्ना संघर्षका अनुभव सुनाउँदै नेपाली महिलाहरुले अन्तराष्ट्रिय महिला दिवस मनाएका हुन् ।

सधैं आफ्नो काममा ब्यस्त भइरहने नेपाली महिलाहरुले प्रवासमा पनि समय निकालेर आत्मसम्मान, महिला सशक्तिकरण र महिला अधिकारका पक्षमा सक्रिय रुपमा छलफल गर्दै दिवस मनाए । कार्यक्रमका सहभागी महिलाहरुले देश छोडेर विदेशमा संघर्ष गरेका अनुभव सुनाउँदा सबै भावुक बनेका थिए । उनीहरुको संघर्षका अनुभव र कथाले अन्तराष्ट्रिय महिला दिवसमा सहभागी भएका नेपाली र विदेशी नागरिकको समेत मन छोएको थियो ।

माल्टामा रहेका नेपाली महिलाहरुले दुःख, कष्ट गर्दै संघर्ष गरेर विभिन्न खालका समस्या सँग जुधेर प्रात्त गरेको सफलताको कथा पनि निकै रोचक थियो । घर परिवारलाई छोडेर जिम्मेवारीको भारी बोक्दै युरोपमा आएका नेपाली महिलाहरुको संघर्षको कथा सुनेका सहभागीहरु एकआपसमा कुरा गर्दै नेपाली महिलाहरुको हिम्मत र साहसको तारीफ गरी रहेका थिए । युरोपका अन्य देशहरु भन्दा माल्टामा रहेका नेपाली महिलाहरु धेरै अगाडी रहेको चर्चा समेत उनीहले गरेका थिए ।
वास्तवमै नेपाली महिलाहरुले माल्टामा गरेको परिश्रम र संघर्षको कथा तारीफ र प्रशंसा गर्न योग्य थियो ।

उनीहरुले बहन गरेको जिम्मेवारी पछाडी घर परिवार पनि सक्षम र सबल बन्दै गएको कथा पनि गजबको थियो । जुन कथाले महिला दिदिबहिनीहरुलाई राम्रो प्रेणा दिएको छ भने आर्थिक सबलता र आत्मसमानको बाटो पनि देखाएको छ । माल्टामा संघर्ष गरी रहेका महिलाहरुले नेपाल पठाउने रेमिट्यान्स (विप्रेषण) ले देश विकासमा समेत योगदान पुगेको छ । त्यसैले देशमा होस् या विदेशमा नेपाली महिलाहरुको योगदान र भूमिकाको राज्यले सम्मान गर्दै न्यायपूर्ण व्यवहार गर्नुपर्ने महिलाहरुले विचार राखेका थिए । महिला सशक्तिकरणका लागि आर्थिक रुपमा महिला सम्पन्न हुनुपर्ने विषयमा घनिभूत रुपमा छलफल गरेका थिए । महिलाहरुको आत्मसम्मानको लागि सबैखाले विभेद र हिंसाको अन्त्य हुनपर्ने भन्दै पितृसत्तात्मक सोचका कारण महिलाहरु अगाडी बढ्न नसकेकोले पितृसत्तात्मक सोचको अन्त्य हुनु पर्नेमा उनीहरुले जोड दिएका थिए ।

एकातिर आफ्नो काम अर्कोतिर नेपाली महिलाहरुले माल्टामा विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध भएर जिम्मेवारी सम्हाल्दै आएका छन् । एनआरएनए माल्टा लगायत अन्य विभिन्न सामाजिक संस्थामा हिजोदेखि आजसम्म जिम्मेवारीमा रहेका महिलाहरुले सफलतापूर्वक आफ्नो दायित्व पूरा गरेका छन् । यसले पनि महिलाहरुको नेतृत्व गर्ने कुशलता र क्षमतालाई प्रमाणित गरेको छ ।

अनुभव सुनाउने क्रममा माल्टामा पाइलट सम्बन्धी अध्ययन गरी रहेकी स्नेहा शाहले आफ्ना भोगाइ तथा अनुभव सुनाएकी थिइन् भने रुस्मा माझीले मिस माल्टाको प्रतिस्पर्धामा सहभागी भएर अन्तिम चरणबाट बाहिरिदाको अुनुभव सुनाएकी थिइन् । त्यसैगरी स्थिर मगरले माल्टामा कामगर्दा, बच्चा जन्माउँदा र हुर्काउदाको अनुभव सुनाउँदा सहभागी गम्भीर बनेका थिए । कार्यक्रममा मगर समाज माल्टा, तामाङ समाज माल्टा, गुरुङ समाज माल्टा, नेवा समाज माल्टा, नेपाली समाज माल्टा, माल्टा नेपाल क्रिश्चियन चर्च माल्टा लगायतका संघसंस्थाबाट सहभागी भएका महिलाहरुले माल्टामा बसेर काम गर्दाका अनुभव र संघर्षका कथा सुनाएका थिए । कार्यक्रममा विशिष्ट अतिथि महिला तथा प्रजनन् स्वास्थ्य विशेषज्ञ डाक्टर राखी साहले महिलाहरुले भोग्नु परेका प्रजनन् स्वास्थ्य समस्याहरुको बारेमा भर्चुअल माध्यमबाट नेपालबाट जानकारी गराएकी थिइन् । विशिष्ट अतिथि आइबेलोङ (ह्मुन राइट्स) माल्टाकी क्याटलिन गालेयाले महिलाहरुको भूमिकाको बारेमा मन्तव्य राखेकी थिइन् ।

एनआरएनए माल्टाको महिला फोरमले आयोजना गरेको अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम ऐतिहासिक रुपमा सम्पन्न भएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले बताए । कार्यक्रम सफल पार्न सहयोगल गर्ने माल्टामा रहेका सम्पूण नेपालीहरुलाई खनालले धन्यवाद् दिएका छन् । दिवसमा सहभागी भएका एनआरएनए माल्टाका कोषाध्यक्ष एवम् नेवा समाज माल्टाका संरक्षक निरज श्रेष्ठले महिलाहरुको संघर्षका अनुभव सुनेर भावुक भएको भन्दै उनीहरुको संघर्ष पछिको सफलता देखेर आफूलाई धेरै खुसी लागेको बताए ।

एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष एवम् युरोप क्षेत्रीय सचिव भुवन अर्याल, एनआरएनए माल्टाका सल्लाहकार एवम् जन सम्पर्क समिति माल्टाका सभापती, हरी बिसी, एनआरएनए माल्टाका सल्लाहकार एवम् निवर्तमान महासचिव रोशन गिरी लगायतकाले उत्कृष्ट कार्यक्रम आयोजना गरिएको बताए । माल्टामा रहेका महिलाहरुको संघर्षका अनुभवले आफूहरुलाई उत्साही बनाएको उनीहरुले बताएका छन् ।

एनआरएनए माल्टाका सचिब ममता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एनआरएनए माल्टाका पूर्व सल्लाहकार एवम् अन्र्तराष्ट्रिय झापाली समाज माल्टाकी महिला संयोजक शर्मिला बस्नेत रहेकी थिइन् । अन्तराष्ट्रिय महिला दिवस कार्यक्रमको संयोजक एवम् एनआरएनए माल्टा महिला उपाध्यक्ष सबनम गुरुङले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य एनआरएनए माल्टाका सल्लाहकार, पूर्व एनआरएनए महिला उपाध्यक्ष, कार्यक्रम उप–संयोजक संयोजक एवम् अन्र्तराष्ट्रिय नारी समाजकी माल्टा संयोजक सबिता भण्डारी (सबुले) राखेकी थिइन् ।

भण्डारीले भनिन्, “ कार्यक्रम सोचे भन्दा पनि धेरै राम्रो भयो । महिला र पुरुषहरुको सहभागिता धेरै भएकोले आगामी दिनमा पनि कार्यक्रम गर्नलाई हमीलाई उर्जा मिलेको छ ।” कार्यक्रममा नृत्य प्रस्तुत गरिएको थियो भने विभिन्न विधामा महिलाहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोग गर्ने सबैलाई उनले धन्यवाद् दिदै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकी छन् ।

 

Share:

सम्बन्धित समाचारहरू