इन्दिरा चाम्लिंग
काजाब्लांका क्यासेल्लो ।
राजदूत सेवा लम्सालसँग नेपाली व्यवसायी संघ बेल्जियमले समन्वय भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । बेल्जियम, नेदरल्यान्ड्स र लक्जमबर्गका लागि नेपालका राजदूत तथा युरोपेली संघका लागि मिसन प्रमुख राजदूत लम्सालसँग समन्वय भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
समन्वय भेटघाटमा नेपाली व्यवसायी संघ बेल्जियम र राजदूतबीच एकआपसमा परिचय गर्ने काम भएको थियो । परिचय संगै नेपाली व्यवसायी संघ बेल्जियमले राजदूत लम्साललाई स्वागत गर्दै संघले बेल्जियममा गरेका कामको बारेमा राजदूतलाई जानकारी गराएको थियो ।
नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरन खवासले संघको इतिहास, संघका उद्देश्य तथा गतिविधिहरू, संघको विस्तार, नेपाल र पर्यटन प्रवद्र्धनमा संघको योगदान, नेपाली दूतावाससँगको सहकार्य, संघका अपेक्षाहरू र दूतावासले नेपाली व्यवसायी संघ तथा व्यवसायीहरू सँगको सहकार्यका बारेमा समन्वय भेटघाट अन्तरक्रिया कार्यक्रममा जानकारी गराएका थिए । संघको विस्तार अपरिहार्य भइसकेको महसुस गर्दै संघका निवर्तमान अध्यक्ष यम निरालले २०२३ बाट नेवा बेनेलक्स तथा २०२४ बाट नेवा युरोपको स्थापना गरिएको बताए ।
समन्वय भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा राजदूत लम्सालले सबैसँग भेटघाट गर्न पाउँदा खुसी लागेको बताइन् । अन्तरक्रिया कार्यक्रममा महत्वपूर्ण जानकारी पाएको भन्दै पूर्वनिर्धारित समयमा कार्यक्रम सुरु गरेकोमा संघलाई राजदूतले धन्यवाद् दिएकी थिइन् । आगामी दिनमा दूतावासले विगतका वर्षहरू भन्दा अझ सशक्त रूपमा नेपाली व्यवसायी संघसँग सहकार्य गर्ने प्रतिबद्धता समेत राजदूत लम्सालले व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा प्रवासी नेपालीका हक अधिकार र भोग्नु पेरका समस्याका बारेमा पनि छलफल गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव बाबुराम शर्माले गरेका थिए भने समसामायिक विषयमा आमन्त्रित सदस्य मदन दवाडीले आफ्ना विचार राखेका थिए ।