माल्टा नेपाल अनलाइन
राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै हिजो मार्च २८ तारीख काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधन भएको घटनाले नेपाल पत्रकार महासंघ युरोप शाखाको गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ, युरोप शाखाका अध्यक्ष केजिन राईद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
उक्त विज्ञप्तिमा प्रदर्शनकारीद्वारा सञ्चारकर्मीमाथि गरिएको आक्रमण, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा तोडफोड, हिमालय टेलिभिजनको गाडीमा क्षति पुर्याउने कार्य तथा सार्वजनिक तथा निजी सम्पत्तिमाथिको आगजनी र लुटपाट जस्ता हिंसात्मक क्रियाकलापप्रति शाखा कडा भर्त्सना गरिएको छ । शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार हो, तर पत्रकारको ज्यान लिने, सञ्चारमाध्यममाथि आक्रमण गर्ने तथा प्रेस स्वतन्त्रता दमन गर्ने कार्य पूर्ण रूपमा अस्वीकार्य, निन्दनीय र आपराधिक रहेको बताइएको छ ।
शाखाले सरकारले प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारगृह तथा सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन् भन्ने सुनिश्चित गर्न कठोर कदम चाल्न नेपाल पत्रकार महासंघ, युरोप शाखाले सरकार समक्ष जोडदार माग समेत गरेको छ ।