एनआरएनए माल्टामा राजनितिको होडबाजी : सेवा कि स्वार्थ ?

Share:

एनआरएनए माल्टामा नेतृत्वका लागि देखिएको राजनितिक लडाइँले नेपाली समुदायमा गहिरो चिन्ता र असन्तोष निम्त्याएको छ। स्वार्थ र निजी फाइदाका लागि मात्र नेतृत्व लिनेहरू बढ्दै गएका छन्, जसले संस्थाको मूल उद्देश्यलाई बिर्सि सकेका छन्।
राजनितिक गुटबन्दी, आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियाको निष्क्रियताले एनआरएनए माल्टालाई अहिले गम्भीर संकटमा पुर्‍याएको छ। यसको स्पष्ट उदाहरण हो एनआरएनए माल्टा माल्टामा आधिकारिक दर्ता भए पनि संस्थाको आधिकारिक बैंक खातामा नहुनु  र लाखौं  रकम कुनै संस्थागत खातामा नभई, एक व्यक्तिको निजी खातामा रहेको भन्दै माल्टामा रहेका नेपालीले यतिबेला चर्को बिरोध गरि रहेका छन् ।  यसले गर्दा पसिना बगाएर माल्टामा नेपालीले दुख गरेर कमाएको रकमको संस्थामा दुरुपयोग भएको भन्दै एनआरएनए माल्टालाई आर्थिक पार्दशिता बारे  प्रश्न समेत गरेका छन ।  आर्थिक सम्बन्धि कुरा बाहिर आएपछि यसको वास्तविकता के हो ? भनेर एनआरएनए माल्टालाई बुझ्दा कार्यसमितिकै धेरैले आफुलाई थाहा नभएको प्रतिक्रिया दिनु पनि दु:खद पक्ष हो ।
एनआरएनएको जिम्मेवारीमा रहेकाहरुकाहरुले संस्थाको निर्णय प्रक्रियाको बारेमा थाहा नै छैन भन्नुले नेपाली प्रवासी समुदायमा संस्था र नेतृत्वप्रति गहिरो अविश्वास फैलाएको छ। नेतृत्व पद धारण गर्नेहरूले पदलाई समाजसेवा भन्दा व्यक्तिगत स्वार्थ पूर्तिको माध्यम बनाएपछि संस्था नै कमजोर र विवादित बन्दै गएको छ। गुटगत राजनीति र पक्षपातका कारण इमानदार र योग्य व्यक्ति नेतृत्वमा आउनबाट वञ्चित भइरहेका छन्। यस्तो अवस्थामा समय अनुकुल आफ्नो विवेकको प्रयोग गरि माल्टामा रहेका नेपालीहरुले अगाडी बढ्न आवश्यक देखिन्छ ।
एनआरएनए माल्टाको  नेतृत्व गर्नेहरुले गुटबन्दीभन्दा माथि उठेर, संस्थाको विधि बिधान र प्रक्रियामा रहेर आर्थिक रकमको हिसाब किताब  विधान बमोजिम साधारणसभा गरेर  समयमै सार्वजनिक गर्नु पर्छ। जसको लागि संस्थाको जिम्मेवारीमा स्वच्छ र निष्ठावान व्यक्तिलाई  ल्याएर नेपाली समुदायको विश्वास जित्ने काम हामी सबैले गर्नुपर्छ। एनआरएनए माल्टालाई  भ्रष्टाचार र अपारदर्शिताबाट मुक्त गर्न सबैले एक भएर आवाज उठाउनु पर्दछ ।
नेतृत्व पदमा सेवा भावनाले नभई स्वार्थले ओगटेर संस्था चलाउनु कुनै पनि नेपालीका लागि स्वीकार्य हुने छैन । हामी सबैले अब जागरुक हुनुपर्छ, नेतृत्वलाई जिम्मेवार बनाउनु पर्छ र यस्तो अनुचित कार्यप्रणालीलाई रोक्न संस्थाको हितको लागि निति नियमको पालना गरेर आवश्यक कदम चाल्नुपर्छ।
एनआरएनए माल्टा हाम्रो साझा संस्था हो, जसले प्रवासी नेपालीहरूको हितमा काम गर्नुपर्छ। यसका लागि नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजसेवा गर्नै पर्छ । यदि  समयमै संस्था भित्रका बेथिति सच्याउन सकिएन भएनन् भने नेपाली समुदायको एनआरएनए माल्टाप्रती विश्वास गुम्दै जाने छ ।
अब मौनता तोड्ने र सुधारका लागि आवाज उठाउने समय आएको छ। हामीले राजनितीक गुटबन्दीलाई छाडेर, नेपाली समाजको भलोका लागि ईमानदार र सच्चा नेतृत्व खोज्नुपर्ने जिम्मेवारी निर्वाह गर्नैपर्छ।

Share:

सम्बन्धित समाचारहरू