माल्टा नेपाल अनलाइन डेस्क
गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय कार्यसमितिले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) माल्टामा देखिएको नेतृत्व संकट, सदस्यता विवाद तथा अधिवेशन प्रक्रिया अवरुद्ध अवस्थालाई मध्यनजर गर्दै सात सदस्यीय महाधिवेशन समिति गठन गरेको छ।
एनसीसी माल्टाले तोकिएको समयभित्र अधिवेशन मिति घोषणा गर्न नसकेको, सदस्यता विवाद समाधान गर्न असफल भएको र केन्द्रीय विधानअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन नसकेको निष्कर्षपछि केन्द्रीय कार्यसमितिले सक्रिय हस्तक्षेप स्वरूप सो समिति गठन गरेको हो।
समितिको संयोजकमा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य तथा युरोप क्षेत्रीय समिति सचिव भुवन अर्याललाई तोकिएको छ। उनी विगत लामो समयदेखि एनआरएनए आन्दोलनमा सक्रिय छन् । संस्थागत अनुभव र समावेशी नेतृत्व क्षमताका कारण केन्द्रीय कार्यसमितिले अर्याललाई संयोजक तोकेको हो ।
सदस्य सचिवको जिम्मेवारी भने नेपाली समाज माल्टाका निवर्तमान अध्यक्ष एवम् एनआरएनए माल्टाका सल्लाहकार दिनेश कार्कीलाई दिइएको छ। अन्य सदस्यहरूमा आईसीसी सदस्य नवीन गिरी, गोविन्द खरेल, पत्रकार प्रकाश बगाले, समाजसेवी मिलन पोख्रेल र कमल पोख्रेल रहेका छन्। सबै पक्ष र क्षेत्रको प्रतिनिधित्व समेट्ने गरी समिति गठन गरिएको जानकारी दिइएको छ।
समितिका संयोजक अर्यालले भने, “वर्तमान नेतृत्व संकट समाधान गर्दै संस्थालाई एकताबद्ध बनाई नयाँ नेतृत्व निर्माण गर्नु हाम्रो मुख्य लक्ष्य हो। हामी कुनै एक पक्षलाई स्थापित गर्न आएका होइनौं। सबै पक्षलाई समेटेर पारदर्शी, निष्पक्ष र समावेशी प्रक्रियाबाट विश्वसनीय नेतृत्व निर्माण गर्ने हाम्रो प्रतिबद्धता छ।”
सदस्य सचिव दिनेश कार्कीले पनि समितिले निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै भने, “संस्थामा देखिएको अन्योल अन्त्य गर्दै सबैको सहभागितामा नयाँ नेतृत्व निर्माणमा हामी गम्भीर छौं। विवाद होइन, सहकार्यको बाटो अपनाएर एनआरएनए माल्टालाई फेरि सशक्त बनाउने हाम्रो लक्ष्य हो।”
उहाँले थपे, “महाधिवेशन समितिमा रही सबै पक्षलाई समेट्ने साझा संरचना निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछु। संस्था सबैको हो भन्ने भावनासहित निष्पक्ष प्रक्रियाबाट अघि बढ्ने हाम्रो अठोट छ।”
गत केही समयदेखि एनआरएनए माल्टामा आन्तरिक विवाद, सदस्यता सम्बन्धी गुनासा र अधिवेशन स्थगनले संस्थागत गतिशीलता कमजोर बनाएको थियो। निष्पक्षता र पारदर्शितामाथि उठेका प्रश्नहरू तथा निर्वाचन प्रक्रियामा उत्पन्न अन्योलताका कारण केन्द्रीय कार्यसमितिलाई हस्तक्षेप गर्नुपर्ने अवस्था आएको हो।
गठित समितिलाई आवश्यक सबै अधिकार प्रदान गरिसकिएको छ। समितिले चाँडै अधिवेशन मिति घोषणा गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको बुझिएको छ।
केन्द्रीय तहबाट गरिएको यो पहललाई सकारात्मक रूपमा लिइएको छ। समितिले सबै पक्षलाई समेट्दै निष्पक्ष र समावेशी प्रक्रियाबाट काम गर्न सकेमा एनआरएनए माल्टा पुनः एकीकृत, सशक्त र दिगो संरचनासहित अघि बढ्ने विश्वास माल्टाबासी नेपालीहरुको रहेको छ।