एनआरएनएबीच एकता घोषणा, १२औँ महाधिवेशन २०२६ अप्रिल १७ भित्र गर्ने सहमति

Share:

माल्टा नेपाल अनलाइन डेस्क
काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई छुट्टाछुट्टै गुटबीच आज औपचारिक रूपमा एकता घोषणा गरिएको छ। प्रधानमन्त्री सुषिला कार्कीको उपस्थितिमा नेताहरू महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

गत केही वर्षयता एनआरएनए दुई गुट—श्रेष्ठ समूह र केसी समूह—मा विभाजित हुँदै आन्तरिक द्वन्द्वमा फसिएको थियो। नेपालमा बदलिएको राजनीतिक वातावरण तथा निरन्तर प्रयासपछि दुवै पक्ष १० बुँदे सहमति गर्दै एकताबद्ध हुन सहमत भएका हुन्।

चार वर्षदेखि विभाजनमा रहँदै आएको संघ अब पुनः एउटै संरचनामा अघि बढ्नेछ। सहमति अनुसार एनआरएनएको १२औँ महाधिवेशन २०२६ अप्रिल १७ भित्र गर्ने निर्णय भएको छ। केसी नेतृत्वको कार्यसमिति एकीकृत महाधिवेशनमा श्रेष्ठ नेतृत्वसँगै जान तयार भएको उल्लेख गरिएको छ।

महाधिवेशनलाई पारदर्शी र विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने सहमति भएको छ। उक्त कमिटीका कुनै पनि सदस्यले १२औँ महाधिवेशनमा उम्मेदवारी दिने छैनन्।

यसअघि विभिन्न समयमा दुवै पक्षले एनआरएनएको आधिकारिकता लगायतका विषयमा दायर गरेका सबै अदालत मुद्दा फिर्ता लिने सहमति पनि भएको छ।

Share:

सम्बन्धित समाचारहरू