काठमाडौं/ बंगलादेशमा भिडको हिंसा फेरि एकपटक चर्चामा आएको छ । राजबाडी जिल्लाको होसेनडांगा गाउँमा बुधबार राति करिब ११ बजे भिडले कुटपिट गर्दा २९ वर्षीय हिन्दु युवक अमृत मण्डल उर्फ सम्राटको मृत्यु भएको छ । प्रहरीका अनुसार जबरजस्ती असुलीको आरोपमा स्थानीयको आक्रोशपछि उनीमाथि आक्रमण भएको हो ।
प्रहरीका अनुसार अमृत सोही गाउँका बासिन्दा थिए र उनीविरुद्ध पांशा प्रहरी स्टेसनमा दुईवटा मुद्दा दर्ता थिए, जसमा एक हत्यासम्बन्धी मुद्दा पनि रहेको जनाइएको छ । डेली स्टारका अनुसार अमृतमाथि लामो समयदेखि गैरकानुनी असुली र आपराधिक गतिविधिमा संलग्न भएको आरोप थियो । भारतमा केही समय लुकेर बसेपछि उनी हालै गाउँ फर्किएका थिए ।
२४ डिसेम्बरको राति अमृत र उनका साथीहरू स्थानीय शाहिदुल इस्लामको घरमा जबरजस्ती पैसा लिन पुगेपछि घरधनीले ‘चोर–चोर’ भन्दै कराए । त्यसपछि जम्मा भएका स्थानीयले अमृतलाई कुटपिट गर्दा उनको मृत्यु भएको हो । उनका केही साथीहरू भाग्न सफल भए पनि सलिम नामका एकजना हतियारसहित पक्राउ परेका छन् ।
यसैबीच, १८ डिसेम्बरमा ढाकानजिकै हिन्दु युवक दीपुचन्द्र दासको हत्या प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ । अनुसन्धानका क्रममा दीपु दासले धार्मिक भावना चोट पुर्याएको कुनै प्रमाण नपाइएको बंगलादेशी सुरक्षा निकायले जनाएको छ । र्यापिड एक्सन बटालियनका अधिकारीका अनुसार सामाजिक सञ्जालमा लगाइएको आरोप निराधार रहेको पुष्टि भएको छ । यस घटनामा हालसम्म १२ जना पक्राउ परेका छन् ।



