काठमाडौँ/वैदेशिक रोजगार विभागको नेतृत्व सहसचिव मिरा आचार्यलाई सुम्पिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरको निर्णयमार्फत उनलाई महानिर्देशकमा नियुक्त गरेका हुन्।
आचार्यले आजैदेखि विभागको कार्यभार सम्हालिसकेकी छन्। यससँगै उनी वैदेशिक रोजगार विभागको पहिलो महिला महानिर्देशकका रूपमा स्थापित भएकी छन्।
यसअघि उनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत थिइन् र हालै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएकी थिइन्। प्रशासनिक अनुभवका कारण उनको नियुक्तिलाई विभागका लागि महत्वपूर्ण मानिएको छ।
पूर्व महानिर्देशक कमलप्रसाद भट्टराई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेशमा सरुवा भएपछि विभागमा नेतृत्व रिक्त थियो।
वैदेशिक रोजगारीका प्रक्रिया सरल बनाउने, सेवाग्राहीको गुनासो सम्बोधन गर्ने र प्रणालीलाई प्रभावकारी बनाउने चुनौती नयाँ नेतृत्वसमक्ष रहेको छ।



