माल्टामा संस्कृति, पहिचान सहित एकताको सन्देश दिन ४४औँ मगर एकता दिवस मनाइदै

Share:

माल्टा नेपाल अनलाइन डेस्क/विदेशी भूमिमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई जीवन्त राख्ने उद्देश्यसहित माल्टामा रहेका मगर समुदाय पुनः एकपटक सांस्कृतिक उत्सवमा जुट्ने भएका छन्। मगर समाज माल्टा को आयोजनामा ४४औँ मगर एकता दिवस तथा विविध सांगीतिक कार्यक्रम यही फेब्रुअरी २८ तारिख माल्टाको जिरा स्थित ओर्फियम थियटरमा दिउँसो ४ बजेदेखि भव्य रूपमा  हुनेछ । भने प्रवेश शुल्क १० युरो तोकिएको आयोजकले जानकारी दिएका छन् ।

नेपालका प्रमुख आदिवासी जनजातिमध्ये एक मगर समुदाय आफ्नै मौलिक परम्परा, भेषभूषा, भाषा, लोकसंस्कृति र वीरताको इतिहासका लागि परिचित छ। नेपालको एकीकरणदेखि राष्ट्र निर्माणका विभिन्न चरणमा मगर समुदायले पुर्‍याएको योगदान महत्वपूर्ण मानिन्छ। यही ऐतिहासिक पहिचानलाई जगेर्ना गर्दै प्रवासमा रहेका मगरहरूबीच आपसी सम्बन्ध मजबुत बनाउने तथा नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने उद्देश्यले हरेक वर्ष मगर एकता दिवस मनाउने परम्परा रहँदै आएको छ।

यस वर्षको कार्यक्रममा माल्टा तथा गोजो मा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन आयोजकले  निमन्त्रणा गरिसकेको जनाएका छन्। कार्यक्रमलाई विशेष आकर्षण दिन चर्चित कलाकार सञ्जय थापा मगर को प्रस्तुति रहनेछ ।

नेपाल मगर संघ पोल्याण्डबाट आउने अतिथि कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ। साथै स्थानीय कलाकारहरूले पनि नेपाली तथा मगर संस्कृतिको झल्को दिने नृत्य र गीत प्रस्तुत गर्ने मगर समाज माल्टाका अध्यक्ष सन्तु थापाले माल्टा नेपाल अनलाइनलाई जानकारी गराएका हुन। उनका अनुसार प्रवासमा आयोजना हुने यस्ता कार्यक्रमले समुदायबीच एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने विश्वास गरिएको छ। उनले सबै नेपालीलाई कार्यक्रममा उपस्थित भई सामूहिक उत्सवलाई सफल बनाउन र प्रवासमा नेपालीपनको अनुभूति दिलाउने यस कार्यक्रमप्रति माल्टास्थित नेपाली समुदायमा उत्साह बढाउन आग्रह समेत गरेका छन् ।

Share:

सम्बन्धित समाचारहरू