७ जना उम्मेदवारले माल्टाबाट भने– एनआरएनएलाई नेपालीहरुको समस्या समाधान गर्ने संस्था बनाउँछौँ

Share:

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा विभिन्न पदका उम्मेदवारहरु एकसाथ माल्टामा पुगेर छलफल गरेका छन् । युरोप युवा उम्मेदवार प्रकाश भण्डारी, युरोप संयोजक पदका उम्मेदवार चिन्तामणि सापकोटा, उपाध्यक्ष पदका उम्मेदवार नारायणप्रसाद आचार्य, सचिव पदका उम्मेदवार दयानिधि सापकोटा, महासचिव पदका उम्मेदवार बुद्धिसागर सुवेदी, युरोप उपसंयोजकको उम्मेदवार हरिबहादुर खत्री, क्षेत्रीय उपसंयोजक (युरोप) पदका उम्मेदवार रमेश काफ्लेले माल्टामा रहेका नेपालीहरुसँग छलफल गरेका हुन् ।

माल्टाको जिरास्थित वेस्टिन ड्रागोना रिसोर्टमा एनआरएनए माल्टाका पदाधिकारी, कार्यसमिति सदस्यहरु, माल्टामा रहेका नेपालीहरुमाझ प्रतिवद्धताहरु, भावि योजनाहरु सार्वजनिक गरेका छन् । युरोप युवा संयोजक पदका उम्मेदवार प्रकाश भण्डारीले एनआरएनएमा युवाको नेतृत्व स्थापित गराइ छाड्ने बताए । उनले युरोपमा रहेका नेपाली युवाहरुको बृहत भेला गराएर हकहित, अधिकारको खोजी, रोजगारीमा सहजीकरण, खेलकुद गतिविधि प्रवद्र्धन, नेपाली कला, संस्कृति, भाषा, मौलिकता जगेर्नाका कामहरु गर्ने बताए ।

उम्मेदवारहरुले एनरआरएनएलाई सशक्त, पारदर्शी र नेपालीहरुको समस्या समाधान गर्ने संस्थाका रुपमा लैजान नेतृत्वमा दाबी गरेको बताए । जागीरबाट निकालिएका, विभिन्न समस्यामा परेका नेपालीको समस्या हल गर्न एनआरएनएले एनसीसी मार्फत विभिन्न संयन्त्र बनाएर काम गर्ने बताए । नेपालको समृद्ध अभियानमा समेत विदेशिएका नेपालीहरुलाई सहभागि गराउने योजनाहरु कार्यान्वयन गरिने बताए ।

एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले एनआरएनए संस्थालाई नेपालीको साझा संस्था बनाउन लाग्नुपर्ने बताए । कार्यक्रममा माल्टामा नेपालीले भोग्नुपरेका समस्याबारे छलफल भएको थियो ।

Share:

सम्बन्धित समाचारहरू